आकस्मिक कक्षमा बेड अभाव : एम्बुलेन्समै बिरामीको मृत्यु

त्रिवि शिक्षण अस्पतालमा उपचार नपाउँदै ज्यान गयो, आफन्तको आक्रोश– ‘बेड नपाएकै कारण मृत्यु’


काठमाडौं। 

देशकै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जको आकस्मिक कक्षमा बेड अभाव हुँदा उपचारका लागि ल्याइएका एक बिरामीको एम्बुलेन्समै मृत्यु भएको घटनाले सरकारी अस्पतालको आकस्मिक सेवा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रवार उपचारका लागि शिक्षण अस्पताल ल्याइएपछि आकस्मिक कक्षमा तत्काल बेड उपलब्ध हुन नसक्दा एम्बुलेन्समै मृत्यु भएको हो। घटनापछि आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै बेड नपाएकै कारण बिरामीको ज्यान गएको आरोप लगाएका छन्।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार थापा नियमित डायलिसिस गराइरहेका मिर्गौला रोगी थिए। उनलाई अचानक स्ट्रोकको समस्या देखिएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो।

अस्पताल प्रशासनका अनुसार बिरामीलाई ल्याइएपछि उनका आफन्त आकस्मिक कक्षको ‘रेड एरिया’मा पुगेका थिए। तर त्यसबेला आकस्मिक कक्षका सबै बेड भरिएका कारण तत्काल बिरामीलाई भर्ना गर्ने अवस्था थिएन। चिकित्सकले केही समय पर्खेर बेड व्यवस्थापन गरिने जानकारी दिएका थिए।

प्रवक्ता सेढाईंले भने, “त्यसबेला आकस्मिक कक्षमा एउटा पनि बेड खाली थिएन। चिकित्सकले केही समय दिनुस्, बेड व्यवस्थापन गर्छौं भनेर आग्रह गर्नुभएको थियो। तर बिरामीका आफन्तले उहाँलाई अर्को अस्पताल, केएमसी लैजान्छौं भन्नुभएको रहेछ।”

अस्पतालका अनुसार बिरामीलाई एम्बुलेन्समै राखिएको थियो। करिब १० देखि १५ मिनेटको अवधिमा उनको स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै गएको र अन्ततः एम्बुलेन्समै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

डा. सेढाईंका अनुसार अस्पतालले बिरामीलाई आकस्मिक कक्षभित्र ल्याएर चिकित्सकीय परीक्षण गर्नसमेत नपाएको जनाएको छ। “हामीले शरीरलाई इमरजेन्सीभित्र ल्याइदिनुस्, डेथ हो कि लाइभ हो भनेर चिकित्सकीय परीक्षण गर्छौं भनेका थियौं। तर त्यो प्रक्रिया पनि पूरा हुन सकेन,” उनले भने।

अस्पताल प्रशासनले आकस्मिक कक्षमा पछिल्लो समय बिरामीको अत्यधिक चाप रहेकाले रेड एरिया र येलो एरियासमेत पूर्ण रूपमा भरिभराउ हुने गरेको जनाएको छ। यही कारण गम्भीर अवस्थाका नयाँ बिरामीलाई तत्काल राख्ने ठाउँको अभाव भइरहेको अस्पतालको भनाइ छ।

“अहिले आकस्मिक कक्षमा अत्यधिक बिरामी छन्। रेड एरिया र यलो एरियामा पनि नयाँ बिरामीलाई तत्काल राख्ने ठाउँ छैन। बेड व्यवस्थापन गर्ने प्रयास भइरहेकै अवस्थामा बिरामीको मृत्यु भयो,” डा। सेढाईंले स्पष्ट पारे

घटनापछि मृतकका आफन्त र उपस्थित सर्वसाधारणले अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले देशकै प्रमुख सरकारी अस्पतालमा आकस्मिक अवस्थाका बिरामीले समेत बेड नपाउने अवस्था हुनु दुःखद भएको भन्दै व्यवस्थापनको कमजोरीका कारण बिरामीको ज्यान गएको आरोप लगाएका छन्।

यस घटनाले मुलुकका ठूला सरकारी अस्पतालमा बढ्दो बिरामी चाप, सीमित पूर्वाधार र आकस्मिक सेवाको व्यवस्थापनलाई पुनः बहसको केन्द्रमा ल्याएको छ। स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकहरूका अनुसार शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताललगायतका तृतीय तहका सरकारी अस्पतालमा दैनिक क्षमताभन्दा धेरै बिरामी आउने भएकाले आकस्मिक कक्षमा बेड अभाव बारम्बार दोहोरिने समस्या बनेको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार आकस्मिक कक्षमा बेड व्यवस्थापन, रेफरल प्रणालीको प्रभावकारी कार्यान्वयन तथा बिरामीको चाप व्यवस्थापन गर्न नसके यस्ता दुःखद घटना दोहोरिने जोखिम रहन्छ। उनीहरूले प्रदेश तथा अन्य सरकारी अस्पतालको सेवा विस्तार, रेफरल प्रणाली सुदृढीकरण र आकस्मिक सेवा क्षमता वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन्।

अस्पताल प्रशासनले भने घटनाको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ। बिरामीको मृत्यु भएको वास्तविक परिस्थितिबारे थप तथ्य बुझ्ने काम भइरहेको र आवश्यक प्रक्रिया पूरा गरी घटनाको मूल्याङ्कन गरिने अस्पतालले जनाएको छ।

देशकै सबैभन्दा ठूलो शिक्षण अस्पतालमा आकस्मिक उपचारको प्रतीक्षामै एक बिरामीले ज्यान गुमाएको यो घटनाले सरकारी स्वास्थ्य सेवाको क्षमता, पूर्वाधार र आपत्कालीन उपचार व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ। स्वास्थ्य सेवा सुधारका सरकारी प्रतिबद्धताबिच आधारभूत आकस्मिक उपचारका लागि समेत बिरामीले समयमै बेड नपाउने अवस्था अन्त्य गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ।