रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न चिकित्सक संघको आग्रह


काठमाडौं।

नेपाल चिकित्सक संघले देशभरका विभिन्न मेडिकल कलेजमा कार्यरत रेजिडेन्ट तथा इन्टर्न चिकित्सकहरूले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले ती मागहरू जायज रहेको उल्लेख गर्दै यथाशीघ्र सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेको छ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा रेजिडेन्ट तथा इन्टर्न चिकित्सकहरूको आन्दोलनका विषयमा सरकार, मेडिकल कलेज, आन्दोलनरत चिकित्सक तथा अन्य सरोकारवालासँग निरन्तर छलफल र संवाद भइरहेको जानकारी दिएको छ।

संघले लोकतान्त्रिक समाजमा आन्दोलनका क्रममा उठाइएका मागहरूको उचित सुनुवाइ हुनु आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षलाई संवाद र सहमतिमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ।

विज्ञप्तिमा सरकारले यसअघि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न आन्दोलनका क्रममा भएका सबै सहमतिलाई एकीकृत गरी कानुनी हैसियतसहित कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। विगतका सहमतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गरे मात्र यस्ता समस्या दोहोरिन नदिने वातावरण बन्ने संघको धारणा छ।

नेपाल चिकित्सक संघले आन्दोलनरत चिकित्सकका माग सम्बोधनका लागि सहजीकरण गर्न तथा सहमतिको वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ।

प्रेस विज्ञप्तिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडी ले हस्ताक्षर गरेका छन्।