भक्तपुर ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–९, बोडेस्थित कृषि तालिम केन्द्रमा एक भूमिहीन सुकुम्बासी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। प्रहरीका अनुसार किर्तिपुरस्थित होल्डिङ सेन्टरबाट स्थानान्तरण गरी कृषि तालिम केन्द्रमा ल्याइएका बारा सुवर्ण गाउँपालिका–२ घर भई हाल सोही स्थानमा बस्दै आएका ५७ वर्षीय हिरालाल पासवान बिहीबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
बिहीबार बिहान करिब १०ः४० बजे कृषि तालिम केन्द्रको तीनतले पक्की भवनको दोस्रो तलामा रहेको कोठा नम्बर २०७ भित्रबाट चुकुल लगाइएको अवस्थामा पासवानलाई फ्यान राख्ने फलामको हुकमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएपछि प्रहरी वृत्त ठिमीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले घटनास्थल तथा शव जाँच मुचुल्का तयार गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। पासवानले आत्महत्या गर्नुको कारण भने तत्काल खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया