चार महिनापछि प्रधानमन्त्री शाहले तोडे आफ्नै प्रोटोकल

भारतीय र चिनियाँ राजदूतपछि आज अमेरिकी कार्यबाहक राजदूत भेट्दै

0
Shares

काठमाडौँ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आफू प्रधानमन्त्री बनेपछि अपनाउँदै आएको विदेशी राजदूतसँग छुट्टाछुट्टै भेट नगर्ने नीति अन्ततः परिवर्तन गर्नुभएको छ । सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्दै प्रधानमन्त्री शाहले चार महिनादेखि कायम राखेको आफ्नो कूटनीतिक प्रोटोकलमा परिवर्तन गर्नुभएको हो ।

प्रधानमन्त्री शाहले यसअघि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग व्यक्तिगत रूपमा भेट नगर्ने र आवश्यक संवाद परराष्ट्र मन्त्रालयमार्फत अघि बढाउने शैली अपनाउनु भएको थियो । प्रधानमन्त्री बनेको केही समयपछि उहाँले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिज्ञलाई सामूहिक रूपमा बोलाएर छलफल गर्नु भएको थियो । तर सोमवार भने शाहले पहिलोपटक भारतीय र चिनियाँ राजदूतसँग छुट्टै भेटवार्ता गर्नुभएको हो । शाहको यो शैलीलाई परम्परागत कूटनीतिक अभ्यासभन्दा फरक र नयाँ सन्देशका रूपमा हेरिएको थियो ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना दिँदै नेपाल–भारतबीचको बलियो तथा बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा सार्थक विचार आदानप्रदान भएको बताइएको छ ।
प्रधानमन्त्री सचिवालयका अनुसार करिब ४५ मिनेट लामो भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो ।

भारतीय राजदूत श्रीवास्तवसँगको भेटलगत्तै प्रधानमन्त्री शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग पनि शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा प्रधानमन्त्री शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ । चिनियाँ राजदूतले पनि सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री शाहसँग मैत्रीपूर्ण वातावरणमा द्विपक्षीय सम्बन्ध र व्यावहारिक सहयोगका साथै साझा चासोका विषयहरूमा छलफल भएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले कार्यभार सम्हालेदेखि विदेशी राजदूतसँगको भेटवार्तामा प्रोटोकललाई प्राथमिकता दिनु भएको थियो । अमेरिका, भारत, चीनलगायत विभिन्न देशका उच्च अधिकारी नेपाल भ्रमणमा आए पनि शाहले व्यक्तिगत भेटवार्ता नगरेको विषय चर्चामा थियो । नेपाल भ्रमण तय भए पनि प्रधानमन्त्री शाहसँग भेट नहुने भएपछि भारतीय विदेशमन्त्री बिक्रम मिश्रीको भ्रमण नै रद्द हुन पुगेको थियो ।

तर अहिले आएर प्रधानमन्त्रीले भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने निर्णय गर्नुले उहाँ कुटनीतिक रूपमा दवामा पर्नु भएको विश्लेषण कुटनीतिका जानकारहरूले बताएका छन । आज मंगलवार अमेरिकी दूतावासका कार्यबाहक राजदूतसँगसमेत प्रधानमन्त्रीको भेटवार्ता गर्ने तयारी छ ।

भारतको दबाब कि बदलिँदो कूटनीतिक आवश्यकता
प्रधानमन्त्रीको पछिल्लो निर्णयलाई लिएर राजनीतिक वृत्तमा विभिन्न कोणबाट व्याख्या हुन थालेका छन् । भारतसँग प्रधानमन्त्रीको पहिलो छुट्टै भेट हुनुलाई कतिपयले भारतसँगको सम्बन्धलाई प्राथमिकता दिएको सङ्केतका रूपमा हेरेका छन् । यद्यपि भारतको दबाबका कारण प्रधानमन्त्री आफ्नो अडानबाट पछि हटेको भन्ने दाबी गर्न थालिएको छ । प्रधानमन्त्रीनिकट स्रोतहरूले भने पछिल्लो समय सरकारमाथि आन्तरिक तथा बाह्य दबाब बढ्दै गएको र प्रधानमन्त्रीको सम्भावित विदेश भ्रमणबारे समेत छलफल अघि बढेकाले कूटनीतिक संवादलाई थप सक्रिय बनाउने आवश्यकता महसुस भएको दाबी गरेका छन् ।

प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले भने भारतीय राजदूतसँगको भेट शिष्टाचार मात्रै भएको बताउनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीले अन्य मित्रराष्ट्रका प्रतिनिधिसँग पनि आवश्यकताअनुसार भेटघाट र संवाद गर्नुहुने छ ।

भारतीय राजदूतसँग प्रधानमन्त्रीको पहिलो छुट्टै भेट भएपछि शाहको सम्भावित पहिलो विदेश भ्रमणलाई लिएर पनि चासो बढेको छ । भारतले प्रधानमन्त्री शाहलाई भ्रमणको निम्तो दिएको चर्चा भए पनि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्रीको भारत भ्रमण औपचारिक रूपमा पुष्टि भइसकेको छैन । प्रधानमन्त्रीनिकट स्रोतले भारत भ्रमणको विषयमा भेटमा छलफल भएको दाबी ग¥यो ।

तर नेपालका नयाँ प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण प्रायः भारतबाट सुरु हुने पुरानो अभ्यास र अहिले भारतीय राजदूतसँग भएको पहिलो छुट्टै भेटका कारण सम्भावित भारत भ्रमणबारे राजनीतिक तथा कूटनीतिक वृत्तमा चर्चा बढेको छ ।
नेपालका लागि भारत र चीन केवल छिमेकी मुलुक मात्र होइनन्; आर्थिक, सुरक्षा, पूर्वाधार, व्यापार, ऊर्जा र भूराजनीतिक दृष्टिले दुवै मुलुकको महत्व अत्यन्त ठूलो छ ।

भारतसँग नेपालको खुला सीमा, व्यापार, रोजगारी, ऊर्जा तथा सामाजिक सम्बन्ध छ भने चीनसँग सीमा, पूर्वाधार, पारवहन, लगानी तथा कनेक्टिभिटीका विषय जोडिएका छन्। पछिल्लो समय चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ तथा भारतसँगको ऊर्जा व्यापार र पूर्वाधार सहकार्यले नेपालको कूटनीतिक सन्तुलनलाई अझ संवेदनशील बनाएको छ ।

त्यसैले भारतीय राजदूतसँग भेट गरेपछि चिनियाँ राजदूतसँग पनि भेट गर्नुले कुनै एक छिमेकीतर्फ मात्र झुकेको सन्देश नदिई दुवै शक्तिशाली छिमेकीसँग समानान्तर संवाद कायम गर्ने प्रयासका रूपमा अर्थ राख्न सक्छ ।

प्रधानमन्त्री शाहको आगामी कूटनीतिक शैली अब केवल प्रोटोकलको विषयमा सीमित रहेन । भारत, चीन र अमेरिका तीनवटै शक्तिसँग नेपालको सम्बन्ध व्यवस्थापन गर्ने क्षमता उहाँको सरकारको विदेश नीतिको मुख्य परीक्षा बन्नेछ ।

नेपाल अहिले भारत–चीन प्रतिस्पर्धाको भूराजनीतिक संवेदनशील क्षेत्रमा छ । त्यसमा अमेरिकाको इन्डो–प्यासिफिक रणनीति, एमसीसी, चीनको बीआरआई, भारतको सीमापार ऊर्जा बजार र पूर्वाधार परियोजनाजस्ता विषयले नेपालको कूटनीतिक क्षेत्रलाई थप जटिल बनाएका छन् ।

यस्तो अवस्थामा प्रधानमन्त्रीले कुनै पनि शक्तिराष्ट्रसँगको सम्बन्धलाई घरेलु राजनीतिक लोकप्रियता वा तत्कालीन दबाबका आधारमा होइन, नेपालको दीर्घकालीन राष्ट्रिय हित, सार्वभौमिकता र रणनीतिक स्वायत्ततालाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने कुटनीतिक विश्लेषकहरूले बताएका छन् ।

शाहले यसअघि अपनाएको ‘सबैलाई समान दूरी’को सामूहिक भेट शैली होस् वा अहिले सुरु गरेको छुट्टाछुट्टै संवादको शैली,दुवैको सफलता अन्ततः संवादको परिणामले निर्धारण गर्नेछ ।

प्रधानमन्त्री शाहको भारतीय राजदूतसँगको भेटलाई कसैले अडानबाट पछि हटेको घटनाका रूपमा व्याख्या गर्न सक्छन् भने कसैले यसलाई सरकारको कूटनीतिक परिपक्वताको सुरुवातका रूपमा लिन सक्छन् ।
तर एउटा कुरा भने स्पष्ट भएको छ — प्रधानमन्त्री बनेपछि विदेशी राजदूतसँग प्रत्यक्ष भेट नगर्ने शाहको नीति अब व्यवहारमा परिवर्तन भएको छ ।

आगामी दिनमा उहाँले भारत र चीनबीचको संवेदनशील सन्तुलन, अमेरिकासँगको बढ्दो रणनीतिक सम्बन्ध र नेपालको राष्ट्रिय हितलाई कसरी एकसाथ व्यवस्थापन गर्नुहुन्छ, त्यसले उहाँको सरकारको कूटनीतिक पहिचान निर्धारण गर्नेछ ।