काठमाडौं ।
पूर्व विश्व जुनियर नम्बर एक तथा राष्ट्रिय नम्बर एक खेलाडी प्रिन्स दाहाल सोमबारबाट सुरु भएको ‘लिनिङ १४ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता’ को पहिलो खेलमै पराजित भएको छ ।
ग्वार्कोस्थित यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा सुरु भएको प्रतियोगिताको पहिलो दिन शीर्ष ८ वरीयतायुक्त पुरुष एकलतर्फको लिग चरणमा अप्रत्याशित नतिजा निस्किएको हो । पूर्व विश्व जुनियर नम्बर एक तथा एपिएफका राष्ट्रिय नम्बर एक खेलाडी प्रिन्स दाहाल आफ्नै विभागीय सहकर्मी क्षितिज खनालसँग २–१ को सेटमा पराजित हुन पुगे । समूह ‘ए’ को रोमाञ्चक खेलमा पहिलो सेट १६–२१ ले गुमाएका प्रिन्सले दोस्रो सेट २१–१३ ले जितेर खेलमा फर्किने प्रयास गरे पनि निर्णायक तेस्रो सेट पुनः १६–२१ ले गुमाउन पुगे । सोही समूहको अर्को खेलमा नेपाल पुलिसका सुनिल जोशीले आफ्नै टोलीका जीवन आचार्यलाई १६–२१, २१–१५ र २१–१५ को सेटमा हराउँदै पहिलो जित दर्ता गरे । त्यस्तै समूह ‘बी’ तर्फ त्रिभुवन आर्मीका प्रफुल महर्जनले पुलिसका दीपक बोहरालाई २१–५, २१–१७ तथा पिस फिटनेस सेन्टरका विष्णु कटुवालले पुलिसका देवराज रानालाई २१–१७, २१–१९ ले पराजित गरे ।
महिला एकलको शीर्ष ८ वरीयतातर्फ समूह ‘ए’ मा नेपाल पुलिसकी सुषमा श्रेष्ठले आर्मीकी अनुमाया राईलाई २१–१६, २०–२२, २१–१६ ले तथा आर्मीकी रसिला महर्जनले पुलिसकी शेष्ना श्रीपालीलाई २१–८, २१–११ ले पराजित गर्दै सुखद सुरुवात गरे । महिला समूह ‘बी’ तर्फ एपिएफकी रिहाना शेरचनले सेनाकी अमिता गिरीलाई २१–१३, २१–१२ र पुलिसकी निता लम्सालले सिटिजन्स बैंककी नङ्गशल तामाङलाई २१–१६, ११–२१, २१–१७ ले हराएका छन् । त्यसैगरी पुरुष एकल (शीर्ष ८ बाहेक) तर्फ रमेश कामी, मिसेक छोङ्गवाङ्ग, सौर्य महर्जन, शिसिर राना, सुमित थोकर, विशाल तामाङ्ग, टोपलाल कुमाल, अनन्त पाख्रिन, प्रतीक विष्ट, जोन जसराज, सम्यक शाक्य, सुजन थापा, विनय चौधरी र नरेन्द्र लिम्बुले आ-आफ्ना प्रतिद्वन्द्वीलाई पछाडि पार्दै ‘राउन्ड अफ ३२’ मा स्थान सुरक्षित गरेका छन् ।
अन्तर्राष्ट्रिय महत्त्व समेत बोकेको यस प्रतियोगितामा विश्व ब्याडमिन्टन परिषद्का सदस्य, ब्याडमिन्टन एसिया विकास समितिका प्रमुख एवं पाकिस्तान ब्याडमिन्टन संघका अध्यक्ष वाजिद अली चौधरीको समेत उपस्थिति रहने महासचिव शाक्यले जानकारी दिनुभयो । यसपटक ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगलतर्फ विदेशी खेलाडीहरूलाई पनि आमन्त्रण गरी सहभागिता गराइँदै छ । प्रतियोगितामा लगातार तीन संस्करण उपाधि जित्ने खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिने छ, जुन उपलब्धि यसअघिको संस्करणमा प्रिन्स दाहालले हासिल गरिसकेका छन् ।
प्रतियोगितामा शीर्ष ८ वरीयताका विधा लिग-कम-नकआउट प्रणालीका आधारमा खेलाइएको छ । जहाँ दुई समूहका शीर्ष दुई खेलाडी सेमिफाइनलमा पुग्नेछन् । लिग चरणमा प्रत्येक खेल खेलेबापत खेलाडीले १५ सय र जित हात पारेमा थप १५ सय रुपैयाँ भत्ता प्राप्त गर्नेछन् । पुरुष तथा महिला शीर्ष ८ वरीयतातर्फका विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै, शीर्ष ८ बाहेकका विधामा विजेतालाई ३० हजार, उपविजेतालाई १५ हजार र तेस्रो स्थान हासिल गर्ने दुवै खेलाडीलाई ७ हजार ५ सय रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यु-११, यु-१५, यु-१९ तथा उमेर समूह र युगल विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक नगद पुरस्कार र पदकको व्यवस्था गरिएको छ ।
नेपाल खेलकुद महासंघको आयोजना तथा यल स्पोर्ट्स एकेडेमीको सहआयोजनामा सञ्चालित यस प्रतियोगिताको नेकपा एमालेका संगठन विभाग प्रमुख एवं पूर्वमन्त्री भानुभक्त ढकालले दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गरेका थिए । कुल ४ सय ८२ खेलाडीको सहभागिता रहेको यस प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघसँग आबद्ध ६० जिल्लाका साथै सेना, प्रहरी र सशस्त्र प्रहरी बल गरी तीन विभागीय टोलीका खेलाडीहरूले १५ फरक विधामा प्रतिस्पर्धा गरिरहेका छन् । करिब ४१ लाख ५ हजार २ सय रुपैयाँको लागतमा श्रावण ३० गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा कुल १० लाख ७८ हजार रुपैयाँ पुरस्कार राशि राखिएको छ ।











प्रतिक्रिया