राखेपको बोर्ड बैठक बिहीबार हुने, ९ एजेन्डामा छलफल गरिने


काठमाडौं।

यही साताको बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औं बोर्ड बैठक हुने भएको छ ।
सो बैठकमा वर्तमान अवस्थामा रहेको खेलकुद विषयबारे छलफल गरिने राखेपले जनाएको छ । राखेपका अध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको छ । जसमा, आसन्न २०औं एसियाली खेलकुदमा सहभागितादेखि लिएर अखिल नेपाल फुटबल संघ (एन्फा) बारे छलफल गरिने भएको हो ।

पहिलो एजेन्डामा यही सेप्टेम्बर १९ (असोज ३) देखि अक्टोबर ४ (असोज १८) सम्म जापानको नागोयामा हुने २०औं एसियाली खेलकुद राखिएको छ । एसियाली खेलकुदमा नेपालका तर्फबाट सहभागिता जनाउने खेल, खेलाडी, प्रशिक्षक र अफिसियलहरुको संख्या तथा नाम अनुमोदन गर्ने, एसियाली खेलकुदको सञ्चालन तथा व्यवस्थापन निर्देशिका पास गर्ने, तयारी तथा सहभागिताको विषयमा बजेट र मान्यता तय गर्ने विषयमा छलफल हुने एजेन्डामा उल्लेख छ । राखेपले यसपटक एसियाली खेलकुदमा दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेको छ ।

दोस्रो नम्बरमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताबारे छलफल गरिनेछ । २०७९ सालमा पोखरा भएको नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा १० औं राष्ट्रिय खेलकुद २०८१ सालमा आयोजना गर्ने घोषणा गरिएको थियो । तर, अहिले २०८३ साल पुग्दा पनि प्रतियोगिता आयोजना गर्न सकिरहेको छैन । १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा हुँदैछ ।

नयाँ सरकार आएको हुँदा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता छिटै हुने अपेक्षा गरिएको छ । अहिले हुने राखेपको बोर्ड बैठकमा १०औं राष्ट्रिय खेलकुदमा समावेश गरिने खेल, आयोजनाको मिति, राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र प्रतियोगिताको बजेट तथा मान्यता सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी राखेपको चालु आर्थिक वर्षको बजेट, राखेपको आन्तरिक अनुमानित आयव्यय, ग्रासरुट कार्यक्रम सञ्चालन, खेल संघहरुलाई दिइने अनुदानलगायतका विषयमा बोर्ड बैठकमा छलफल गरिने एजेन्डामा उल्लेख छ ।

राखेपको बोर्ड बैठकमा छलफल गरिने अर्को महत्वपूर्ण विषय भनेको एन्फा हो । एन्फा अहिले विश्व फुटबलको सर्वोच्च निकाय फिफाद्वारा निलम्बित भएको अवस्था छ । असार ११ गते निलम्बनमा परेको एन्फा अहिल निष्क्रिय अवस्था छ । यसले गर्दा नेपाली फुटबल खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुन पाइरहेका छैन्न् ।

बिहीबार हुने राखेपको बोर्ड बैठकमा एन्फलाई फिफाबाट निलम्बन कसरी हटाउन सक्ने हो भन्ने नै मुख्यरुपमा छलफल हुनेछ । वास्तवमा राखेपले एन्फामाथि हस्तक्षेप गर्नु नैं फिफाले तेस्रो पक्षको हस्तक्षेप मानेर नै एन्फालाई निलम्बन गरेको छ । यसैले राखेपले सो बैठकबाट कुनै ठूलो महत्वपूर्ण निर्णय सार्वजनिक हुने भन्ने सबैजसो फुटबलसँग सम्बन्धित व्यक्तिहरूले अपेक्षा गरेका छन् ।

प्रस्तावित अजेन्डाहरू (बक्समा राख्ने)

–२०औं एसियाली खेलकुद सम्बन्धमा ।

–दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धमा ।

–राष्ट्रिय खेलकुद परिषद्को चालु आ.ब. २०८३÷८४ को विनियोजित बजेट सम्बन्धमा ।

–राष्ट्रिय खेलकुद परिषद्को आन्तरिक तर्फको अनुमानित आय व्यय सम्बन्धमा ।

– राष्ट्रिय खेलकुद परिषद्लाई अत्यावश्यक प्राविधिक कर्मचारीहरु करार सेवामा लिने सम्बन्धमा ।

–राष्ट्रिय खेलकुद परिषद्लाई आवश्यक कानूनी सल्लाहकारको सेवा करारमा लिने सम्बन्धमा ।

–खेलकुद ग्रासरुट कार्यक्रम सञ्चालन सम्बन्धमा ।

खेल संघहरुलाई खेल कार्यक्रमको लागि अनुदान सहयोग सम्बन्धमा ।

९. विविध -: शिक्षा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षबाट मिति २०८३÷०२÷०७ मा परिषद्का सदस्य सचिवलाई प्रत्यायोजित अधिकारको अनुमोदन सम्बन्धमा ।

–खेलाडी कल्याणकारी कोष प्रयोग सम्बन्धी मापदण्ड–२०८३ ।

– कार्यकारी समितिबाट खरिद शाखा स्थापना गरिएकोलाई अनुमोदन सम्बन्धमा ।

– अखिल नेपाल फुटबल संघको सम्बन्धमा ।

– खेल संघहरुको नवीकरण सम्बन्धमा ।