बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनासको प्रेमकथा कुनै फिल्मको कथाभन्दा कम रोचक छैन। हालै जोनास ब्रदर्सको पोडकास्टमा उनीहरूले आफ्नो सम्बन्धको सुरुवाती दिन सम्झिँदै प्रेमको सुरुवात कसरी भयो भन्ने रोचक प्रसंग सुनाएका छन्।
निकका अनुसार प्रियंकासँगको सम्बन्ध अघि बढाउने पहिलो कदम उनले नै चालेका थिए। करिब एक दशकअघिको उक्त कुराकानीको सुरुवात सामाजिक सञ्जालबाट भएको थियो।
पोडकास्टमा निकले प्रियंकासँगको पहिलो अनलाइन कुराकानीको स्क्रिनसटसमेत देखाएका थिए। उनले बताएअनुसार उनका दाजु केभिनले प्रियंकाको टेलिभिजन सिरिज ‘क्वान्टिको’बारे उनलाई बताएका थिए। पछि लस एन्जलसको सनसेट बुलेवार्डमा प्रियंकाको ठूलो विज्ञापन देखेपछि उनी निकै उत्साहित भए।
निकले त्यसपछि सामाजिक सञ्जालमा प्रियंकाको प्रोफाइल हेरे। संयोगले प्रियंकाले उनलाई पहिले नै फलो गरिरहेकी थिइन्। यही मौका छोप्दै निकले प्रियंकालाई पहिलो निजी सन्देश पठाए।
उनले प्रियंकालाई आफूले केही व्यक्तिबाट उनीहरूसँग भेट्नुपर्ने कुरा सुनेको र आफू पनि त्यसमा सहमत रहेको भन्दै चाँडै लस एन्जलस आउँदैछिन् कि भनेर सोधेका थिए।
प्रियंकाले पनि सकारात्मक रूपमा जवाफ दिएकी थिइन्। उनले निकलाई फोनमा कुराकानी गर्न आग्रह गर्दै सामाजिक सञ्जालको आफ्नो अकाउन्ट आफ्नो टिमका सदस्यहरूले समेत हेर्ने भएकाले निजी माध्यमबाट कुराकानी गर्न सहज हुने बताएकी थिइन्।
पोडकास्टमा यो पुरानो संवाद पढ्दा प्रियंका र निक दुवै हाँसिरहेका थिए। उनीहरू एकअर्काको हात समातेर पुराना दिन सम्झिँदै निकै खुसी देखिएका थिए।
सामाजिक सञ्जालबाट सुरु भएको यो कुराकानी बिस्तारै प्रेममा परिणत भयो। सन् २०१७ मा उनीहरू पहिलोपटक सार्वजनिक रूपमा सँगै देखिएका थिए। त्यसपछि मेट गालालगायत विभिन्न कार्यक्रममा उनीहरू सँगै देखिन थालेपछि सम्बन्धको चर्चा झन् चुलियो।
सन् २०१८ मा निकले प्रियंकालाई विवाहको प्रस्ताव राखे। त्यसै वर्ष डिसेम्बरमा भारतमा हिन्दु र क्रिस्चियन दुवै परम्पराअनुसार उनीहरूले भव्य विवाह गरे।
विवाहपछि यो जोडीले सन् २०२२ मा सरोगेसीमार्फत छोरी मालती म्यारी चोपडा जोनासलाई आफ्नो जीवनमा स्वागत गरेको थियो।
यसैबीच प्रियंका चोपडा भारतीय फिल्म क्षेत्रमा पनि फर्किने तयारीमा छिन्। उनी एसएस राजामौलीको निर्देशनमा बन्न लागेको ‘वाराणसी’मा महेश बाबु र पृथ्वीराज सुकुमारनसँग देखिँदैछिन्। लामो समयपछि भारतीय सिनेमामा उनको पुनरागमन हुन लागेको यो फिल्मलाई लिएर दर्शकमाझ उत्सुकता बढेको छ। फिल्म सन् २०२७ मा प्रदर्शनमा आउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया