काठमाडौं ।
अखिल नेपाल फुटबल संघ (एन्फा) फिफाको निलम्बनमा परेको कारण नेपालले एकपछि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदैं जाने भएको छ ।
फिफाको निलम्बनले गर्दा एएफसी यु–१७ महिला एसियन कप छनोट, एएफसी महिला च्याम्पियन्स लिग, पुरुषको साफ च्याम्पियनसिप, एएफसी यू २० एसियन कप टियर २ (डेभलेपमेन्ट फेज) जस्ता मुख्य मुख्य प्रतियोगिता नेपालले गुमाएको हो ।
यसमा साफ च्याम्पियनसिप खेल्नको लागि सेप्टेम्बरसम्मको अवधि रहेको छ । सेप्टेम्बरसम्ममा फिफाबाट निलम्बन हटाउन सकेमा नेपालले बंगलादेशमा हुने पुरुषको साफ च्याम्पियनसिप खेल्न पाउनेछ । यदि, निलम्बन यथावत रहिरहेमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपमा खेल्न पाउने छैन ।
एएफसी यु–२० एसियन कप छनोट टियर २ को प्रतियोगितामा भने नेपालले खेल्न नपाउने भइसकेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले अगस्ट १ सम्म फिफाको निलम्बन हटिनुपर्ने बताएको थियो । तर, नेपालले यो समयअवधिमा निलम्बन हटाउन कुनै पहल नगरेपछि नेपालले यो प्रतियोगिता गुमाउनु परेको छ ।
नेपालसहित दक्षिण एसियाका माल्दिभ्स, श्रीलंका र भुटानगरि कूल १२ टोली डेभलेपमेन्ट फेजमा छन् । यी १२ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली अर्को संस्करणका लागि ‘क्वालिफिकेसन फेज’मा छनोट हुने प्रावधान रहेको छ ।
क्वालिफिकेसन फेजमा बढुवा हुनु भनेको अर्को संस्करणमा छनोट हुन आफ्नो दाबेदारी दिन पाउनु हो । नेपालको समूहमा मंगोलिया, ग्वाम र नर्दन मारियाना आइल्यान्ड थिए । फिफा निलम्नबका कारण नेपालले मंगोलियामा हुने खेलहरु गुमाउनेछ । यसको मतलब छनोट प्रतियोगिताको अर्को संस्करण पनि नेपाल डेभलपमेन्ट फेजमै रहनेछ ।
निलम्बन हटाउने पहलमा सरकार
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफासँग आफ्नो निरन्तर सम्पर्क भइरहेको बताएका छन् । फिफासँग यस विषयमा सकारात्मक रूपमा अगाडि बढिरहेको पनि उनले बताए । तर, फिफा आफ्नो अडानमा रहेको पनि स्रोतले जनाएको छ । एन्फाका निलम्बनमा परेका पदाधिकारीहरू भने यस विषयमा केही गर्ने अधिकार नभएको बताउँछन् । यसले त नेपाली फुटबल अझै निलम्बनमै रहने संकेत देखाएको छ ।
।











प्रतिक्रिया