सिन्धुली।
सिन्धुलीमा पनि यति बेला खाना पकाउने ग्यासको हाहाकार रहेको छ । विगतमा भरिएको ग्यास पर्याप्त पाइने पसलहमा अहिले खाली सिलिन्डर मात्रै चाङ लगाएर राखिएको भेटिन्छ ।
पछिल्लो समय भएको ग्यास अभाव र हुन सक्ने सम्भावित कालो बजारीका बारेमा उपभोक्ताहरुको गुनासो बढेपछि जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समितिले शुक्रवार बजार अनुगमन गर्यो । तर सिन्धुलीमाढी बजारका मुख्य ग्यास विक्री वितरण गर्ने पसलहरुमा अनुगमन गर्दा समितिले खाली सिलिन्टरको चाङ मात्रै भेटेको छ ।
शुक्रवार अनुगमन गरिएको सात वटै पसलहरुमा खाना पकाउने ग्यास भएको सिलिन्डर नभेटिएको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन समिति संयोजक दिपेन्द्र पौडेलले बताए ।

सहायक प्रजिअ नेतृत्वको जिल्ला स्तरीय संयुक्त बजार अनुगमन समितिले सिन्धुलीको ढुङग्रेवास, राम्माढी, माझीटार, स्टल बजार, १ नम्बर, २ नम्बर बजारका ग्यास बिक्री–वितरण गर्दै आएका ७ पसलहरुमा अनुगमन गरेको हो । त्यस्तै अनुगमनका क्रममा ग्यास भरिएको प्रति सिलिन्डरको २ हजार ६० रुपैयाँ मूल्य तोकिएको भए पनि प्रति सिलिन्डर २० रुपैयाँ बढाएर २ हजार ८० रपैयामा विक्री वितरण हुँदै आएको पाइएपछि तोकिएकै मूल्यमा विक्री वितरण गर्न समितिले व्यवसायीहरुलाई सचेत गराएको छ ।
समितिले प्रत्येक पटक आउने ग्यास र खरिद गर्ने उपभोक्ताहरुको यर्थात विवरण राखी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित र पारदर्शी बनाउँदै उपभोक्ताको हितलाई ध्यानमा राखेर व्यवसाय गर्न आग्रह गरेको छ ।
समितिले ग्यास उपलब्ध हुँदाहुँदै ‘ग्यास छैन’ भनेर उपभोक्तालाई फर्काउने, लुकाउने, बढी मूल्य लिने वा आफू निकटका व्यक्ति, होटल तथा व्यवसायीलाई मात्र बिक्री गर्ने जस्ता गतिविधि नगर्न व्यवसायीलाई सचेत गराएको छ । यस्तै, एकै व्यक्तिलाई धेरैवटा सिलिन्डर नदिन तथा विशेषगरी वृद्धवृद्धा र विद्यार्थीलाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन आग्रह गरिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रवार एक सूचना जारी गर्दै ग्यासको बिक्री–वितरणमा अनियमितता, कालोबजारी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ ।
अनुगमनमा सहायक प्रजिअ पौडेल सहित उद्योग वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुलीका प्रमुख टेकेन्द्र बहादुर थापा मगर, कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुली, उपभोक्ता हित संरक्षण मञ्च सिन्धुलीका प्रतिनिधि लगायत सहभागी रहेका थिए ।












प्रतिक्रिया