बबी देओललाई फोन गर्दा सन्नी देओलले उठाए, त्यसपछि प्रीति जिन्टासँग जे भयो…


प्रीति जिन्टाले आफू अभिनीत आगामी फिल्म बंटवारा १९४७ को प्रचारका क्रममा अभिनेता सन्नी देओलसँग जोडिएको पुरानो रोचक घटना सार्वजनिक गरेकी छन्। उनले ल्यान्डलाइन फोनको समयको एउटा अनुभव सुनाउँदै एकपटक सन्नी देओलबाट फोनमै गाली खाएको बताएकी हुन्।

मिडियासँगको कुराकानीमा प्रीतिले सन्नी देओल र उनका भाइहरूसँग सम्बन्धित सम्झना सुनाइन्। उनका अनुसार, ल्यान्डलाइन फोन प्रयोग हुने समयमा उनले एक रात अबेर बबी देओलसँग कुरा गर्न फोन गरेकी थिइन्। तर फोन बबीले होइन, सन्नी देओलले उठाएका थिए। राति ढिलो फोन गरेको भन्दै सन्नीले उनलाई किन यति बेलामा फोन गरेको भन्दै हप्काएका थिए।

प्रीतिका अनुसार उक्त घटनापछि उनी निकै डराएकी थिइन्। उनले त्यसबेला आफ्नो व्यक्तिगत डायरीमा आफूलाई सन्नी देओलले हप्काएको कुरा समेत लेखेर राखेकी थिइन्।

सोही अवसरमा प्रीतिले अहिलेको सामाजिक सञ्जाल संस्कृतिबारे पनि आफ्नो धारणा राखिन्। उनका अनुसार, आजको समय विशेषगरी किशोरकिशोरीका लागि निकै चुनौतीपूर्ण छ। पहिले विद्यालयमा सीमित संख्याका व्यक्तिबाट मात्र आलोचना वा दुर्व्यवहार सहनुपर्थ्यो भने अहिले सामाजिक सञ्जालका कारण लाखौं मानिसबाट एकैपटक आलोचना र ट्रोलिङको सामना गर्नुपर्ने अवस्था रहेको उनले बताइन्।

बंटवारा १९४७ भारत विभाजन र पञ्जाबको विभाजनको पृष्ठभूमिमा आधारित पिरियड ड्रामा फिल्म हो। राजकुमार सन्तोषीले लेखन तथा निर्देशन गरेको यस फिल्मको निर्माण आमिर खान प्रोडक्सन्सले गरेको हो।

फिल्ममा सन्नी देओल, प्रीति जिन्टा, शबाना आजमी, करण देओल, अली फजल र अभिमन्यु सिंहको अभिनय रहेको छ। करिब आठ वर्षपछि प्रीति जिन्टाले यही फिल्ममार्फत बलिउडमा पुनरागमन गर्न लागेकी मानिएको छ।