अमेरिकाको फ्लोरिडा राज्यका ११ वर्षीय नेहेमायाह टर्नरले संरक्षणमा रहेका जनावरलाई पुस्तक पढेर सुनाउँदै १०० घण्टा स्वयंसेवा पूरा गरेका छन्। यससँगै उनी स्थानीय ज्याक्सनभिल ह्युमेन सोसाइटीको ‘पजिटिभ रिडिङ’ कार्यक्रममा १०० घण्टा पूरा गर्ने पहिलो बाल स्वयंसेवक बनेका छन्।
नेहेमायाहले पछिल्ला दुई वर्षदेखि आफ्नी हजुरआमासँग नियमित रूपमा जनावर आश्रयस्थल पुगेर कुकुर र बिरालोलाई पुस्तक पढेर सुनाउँदै आएका छन्। उनका अनुसार यसरी पुस्तक सुनाउँदा आश्रयस्थलमा रहेका जनावर शान्त हुने, तनाव कम हुने र मानिससँग घुलमिल हुन सहज हुने विश्वास गरिन्छ।
उनले पहिलो पटक ‘अगी’ नामको कुकुरलाई पुस्तक सुनाएको अनुभव अहिले पनि सम्झिने गरेका छन्। त्यसयता उनी हरेक साता आश्रयस्थल पुगेर जनावरलाई कथा सुनाउने गर्छन्। उनी विशेषगरी ‘होपर’ नामको कुकुरसँग धेरै समय बिताउने गर्थे। करिब ४०० दिन आश्रयस्थलमा बसेको उक्त कुकुरलाई पछि नयाँ परिवारले दत्तक लिएपछि आफू निकै खुसी भएको नेहेमायाहले बताएका छन्।
ज्याक्सनभिल ह्युमेन सोसाइटीका अधिकारीहरूका अनुसार नेहेमायाहको पहलले आश्रयस्थलका जनावरलाई शान्त र आत्मविश्वासी बनाउन मद्दत पुगेको छ। साथै, उनको उदाहरणले अन्य बालबालिकालाई पनि स्वयंसेवा र जनावरप्रति दया देखाउन प्रेरित गरेको उनीहरूको भनाइ छ।
१०० घण्टाको उपलब्धि हासिल गरेपछि पनि नेहेमायाह रोकिएका छैनन्। उनले अब १५० र त्यसपछि २०० घण्टा स्वयंसेवा पूरा गर्ने लक्ष्य राखेका छन्।
स्रोत : एबीसी न्युज











प्रतिक्रिया