काठमाडौँ।
स्पेसएक्सको फाल्कन–९ रकेटको प्रयोगपछि अन्तरिक्षमा रहेको माथिल्लो चरण (अप्पर स्टेज) चन्द्रमाको सतहमा ठोक्किएको छ। यद्यपि, उक्त टक्करको प्रभावबारे वैज्ञानिकहरूले आधिकारिक पुष्टि गर्न थप अध्ययन गरिरहेका छन्।
टक्कर भएको समयमा चन्द्रमाको कक्षामा रहेका कुनै पनि अन्तरिक्षयान उपयुक्त स्थानमा नरहेकाले घटनाको प्रत्यक्ष तस्बिर वा भिडियो रेकर्ड हुन सकेको छैन। त्यसैले वैज्ञानिकहरूले अब चन्द्रमाको सतहका पुराना र नयाँ तस्बिरको तुलना गर्दै टक्करबाट बनेको सम्भावित नयाँ क्रेटर वा अन्य प्रभावको खोजी गर्ने तयारी गरेका छन्।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उक्त घटनाले पृथ्वीमा कुनै जोखिम नपुग्ने स्पष्ट पारेको छ। नासाका अनुसार यस घटनाबाट चन्द्रमाको सतहसम्बन्धी थप वैज्ञानिक जानकारी प्राप्त हुनुका साथै अन्तरिक्षमा रहेका निष्क्रिय वस्तुको निगरानी तथा अध्ययनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चिलीस्थित पारानल वेधशालाका टेलिस्कोप अपरेटर रोड्रिगो पालोमिनोसले रकेटको माथिल्लो चरण चन्द्रमामा ठोक्किने अनुमानित समयमा केही असामान्य प्रकाशीय संकेत अवलोकन गरिएको बताएका छन्। उनका अनुसार टक्करसँगै केही प्रकाशीय उत्सर्जन रेखामा परिवर्तन देखिएको छ, जुन यसअघि देखिएको थिएन।
पालोमिनोसले यसलाई टक्करपछि सतहबाट उछिट्टिएको सामग्रीको प्रारम्भिक संकेत हुन सक्ने बताएका छन्। यद्यपि, यसको अन्तिम पुष्टि थप विश्लेषण र अध्ययनपछि मात्रै हुने वैज्ञानिकहरूको भनाइ छ। बीबीसीबाट











प्रतिक्रिया