विद्यार्थी आन्दोलनको पक्षमा उभिइन् सोनाक्षी सिन्हा


बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले झारखण्डमा सरकारी सेवा आयोगका भर्ती प्रक्रियामा भएको भनिएको अनियमितताको विरोधमा आन्दोलनरत विद्यार्थीलाई समर्थन जनाएकी छन्। यसअघि उनले नीट प्रश्नपत्र चुहावटको विरोधमा उत्रिएका विद्यार्थीहरूको पक्षमा पनि आवाज उठाएकी थिइन्।

सोनाक्षीले आफ्नो इन्स्टाग्राम स्टोरीमा आन्दोलनसँग सम्बन्धित भिडियो सार्वजनिक गर्दै लेखेकी छन्, “झारखण्डका विद्यार्थीमाथि सबैको ध्यान जानुपर्छ। आफ्नै देशका विद्यार्थीले यस्तो अवस्था भोग्नुपरेको देख्दा निकै दुःख लाग्छ। आखिर यो कहिलेसम्म चलिरहने हो?”

त्यसपछि उनले अर्को भिडियो पनि साझा गरेकी छन्, जसमा आन्दोलनमा सहभागी एक विद्यार्थीले सञ्चारमाध्यमसँग कुरा गर्दै झारखण्डका विद्यार्थीका समस्या राष्ट्रिय स्तरमा किन प्राथमिकताका साथ उठाइँदैनन् भन्ने प्रश्न गरेका छन्।

झारखण्डको राजधानी राँचीमा विद्यार्थीहरू २९ जुलाईदेखि रंगशालामा अनिश्चितकालीन धर्नामा बसेका छन्। उनीहरूले १४औँ झारखण्ड लोक सेवा आयोग परीक्षा, झारखण्ड कर्मचारी चयन आयोग–संयुक्त स्नातक स्तर परीक्षा तथा अन्य भर्ती प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र भर्ती प्रणालीमा सुधारको माग गरिरहेका छन्।

विद्यार्थीहरूको आन्दोलनका कारण झारखण्ड सरकारमाथि स्वतन्त्र छानबिन गराउने र राज्यका भर्ती निकायमा सुधार गर्ने दबाब बढ्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि पनि सोनाक्षी सिन्हाले नीट प्रश्नपत्र चुहावट प्रकरणमा आन्दोलनरत विद्यार्थीहरूको समर्थन गर्दै उनीहरूको मागप्रति ऐक्यबद्धता जनाएकी थिइन्। अहिले उनले झारखण्डका विद्यार्थीहरूको आन्दोलनलाई पनि सार्वजनिक रूपमा समर्थन गरेकी हुन्।