वर्षायाम स्वास्थ्यका लागि जोखिमपूर्ण हुने समय हो । उच्च आर्द्रता र सरसफाइमा हुने कमीले गर्दा यो समयमा विभिन्न संक्रामक तथा किटजन्य रोगहरु बढ्ने गर्छन् । यो बेला सबैभन्दा बढी लामखुट्टेको टोकाइबाट हुने डेंगु देखिने गरेको छ भने रुघाखोकी, ग्यास्टोइन्टेराइटिस, स्क्रब टाइफस (मुसामा लाग्ने किर्नाजस्तो देखिने जीवाणुबाट सर्ने रोग) तथा लेप्टोस्पाइरोसिस (संक्रमित पशुको पिसाबमार्फत् सर्ने) जस्ता रोग धेरै हुने गर्छन् । यस्तै, आँखामा हुने कन्जेक्टिभाइटिस र भिजेको कपडा वा ओसिलो वातावरणका कारण छालाको संक्रमण हुने जोखिम पनि यो समयमा हुन्छ । विशेष गरी जिउ चिलाउने, दाद वा घाउखटिरा पनि यो समयमा देखिने गरेका छन् ।
पानी पर्ने समयमा अनुकूल तापक्रम हुने र पानी जम्ने भएकाले लामखुट्टेको प्रजनन दरमा वृद्धि हुने गर्छ, जसका कारण यो समयमा डेंगुको संक्रमण बढी देखिने गरेको हो । यसका साथै उच्च आर्द्रता, खानेपानीको मुहान प्रदूषित हुने, र भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्ने भएकाले यो मौसममा भाइरस र ब्याक्टेरियाको सक्रियता र प्रसार क्षमता अन्य समयको तुलनामा बढी हुन्छन् ।
यसैगरी, यो मौसममा पानी परिरहने हुनाले मानिसहरु धेरै समय घरभित्रै बस्छन् । तर, घरभित्र हावा खेल्ने ठाउँ कम हुन्ु, कोठा ओसिलो हुनु र मानिसहरु एक अर्काको नजिक रहनुले श्वासप्रश्वासबाट सर्ने भाइरस (जस्तै इन्फ्ल्यएन्जा) सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छन् ।
यस्तै, यस मौसममा श्वासप्रश्वास नलीमा सुक्खापन आउने, अचानक मौसम परिवर्तन भइरहने हुनाले शरीरको स्वाभाविक प्रतिरोधी क्षमता कमजोर हुन सक्छ र यही मौका छोपेर सूक्ष्म परजीवीहरूले शरीरमा आक्रमण गर्छन् ।
कस्ता व्यक्ति बढी जोखिममा ?
बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, मुटु, श्वासप्रश्वास रोग, फोक्सोको रोग, बाथरोग, क्यान्सरजस्ता दीर्घकालीन रोग भएकाहरू यो बेला बढी जोखिममा पर्छन्।
रुघाखोकी र गम्भीर संक्रमण कसरी छुट्याउने ?
रुघाखोकी लगाउने राइनोभाइरस र इन्फ्लुएन्जा भाइरसहरु चिसो र ओसिलो वातावरणमा बढी सक्रिय हुने भएकाले यो मौसममा रुघाखोकी बढी लाग्ने सम्भावना हुन्छ । यसका साथै ओसिलोपनका कारण घरभित्र ढुसीजस्ता एलर्जी गराउने तत्त्व बढ्दा रुघाखोकीजस्तै लक्षण देखा पर्छन् ।
तर रुघाखोकी केही अवस्थामा गम्भीर संक्रमणको संकेत पनि हुन सक्छ । जस्तो, लामो समय ज्वरो आउने, खोक्दा पहेंलो खकार आउने, श्वास फेर्न गाह्रो हुने, खाना निल्न समस्या हुने, जिउ दुखेसँगै थकान हुने, चेतना हराउँदै जाने, छालामा राता दाग देखिनेजस्ता लक्षण देखिए तत्काल अस्पताल जानुपर्छ ।
यस्तै, सास फेर्न गाह्रो हुने, औंलाका नंग निलो हुने, छाती दुख्ने, हात खुट्टा चिसो हुने, रिंगटा लाग्ने, धेरै बान्ता हुने, खान नसक्नेजस्ता समस्या देखिए तत्काल अस्पताल जानुपर्छ ।
कस्ता सावधानी अपनाउने ?
यो मौसममा रोग लाग्न नदिन गर्नुपर्ने सबैभन्दा प्राथमिक कार्य नै शरीरको प्रतिरोधी क्षमता बढाउने हो । सन्तुलित र ताजा खाना खाने, आराम गर्ने, शारीरिक रुपमा सक्रिय हुने, सरसफाइमा ध्यान दिने कार्य महत्त्वपूर्ण हो । बासी तथा झिंगा भन्केको खाना खानुहुन्न । पानी उमालेर पिउनुपर्छ । हात र श्वासप्रश्वासको सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ । विश्वमा हरेक वर्ष ५ वर्षमुनिका १८ लाख बालबालिकाको झाडापखाला र श्वासप्रश्वासजन्य रोगका कारण मृत्यु हुने गरेको छ हातको सरसफाइमा ध्यान दिने हो भने झाडापखालाबाट हुने मृत्युमा एक तिहाइ कमी आउँछ ।
मनसुन इमर्जेन्सी
पानी पर्ने मौसममा विभिन्न आपतकालीन स्वास्थ्य समस्या निम्तने जोखिम रहन्छ, जसका कारण तत्काल अस्पताल जानुपर्ने अवस्था आउन सक्छ । यो मौसममा घरवरिपरी तथा सडक–बाटो चिप्लो हुने भएकाले चिप्लने, सवारी दुर्घटना हुनेजस्ता घटना बढी हुन्छन् । जसले चोटपटकका समस्या बढ्ने गर्छ । पहिरोका कारण पनि घाइते हुने, चोटपटक लाग्ने सम्भावना हुने भएकाले तत्काल अस्पताल जानुपर्ने अवस्था आउन सक्छ ।
बाढीका कारण खानेपानीको स्रोत दूषित हुने भएकाले पानीजन्य संक्रमण बढ्ने, हैजा, झाडापखालाका समस्या बढ्छन् भने चट्याङले पनि मानवीय क्षति तथा जलनका समस्या निम्त्याइरहेका हुन्छन् । यसका साथै यो समयमा सर्पदंशका घटना बढ्दा पनि स्वास्थ्य आपतकालका अवस्था सिर्जना भइरहेका हुन्छन् ।
(कन्सल्ट्यान्ट, जनरल प्राक्टिसनर एन्ड इमर्जेन्सी मेडिसिन, नर्भिक अस्पताल)











प्रतिक्रिया