बलिउडमा धेरै अभिनेत्रीहरूले आफ्नो अभिनयका कारण दर्शकको मन जिते भने केही अभिनेत्रीहरूले अभिनयसँगै आफ्नो ग्ल्यामर, फेसन, आत्मविश्वास र जीवनशैलीका कारण पनि छुट्टै पहिचान बनाए। उनीहरूले पर्दामा मात्र होइन, आफ्नो व्यक्तित्वका कारण पनि दशकौँसम्म चर्चा बटुले। यस्ता सात चर्चित अभिनेत्री:
१. परवीन बाबी
१९७० र ८० को दशककी परवीन बाबी बलिउडकी पहिलो आधुनिक तथा ग्ल्यामरस अभिनेत्रीमध्ये एक मानिन्छिन्। पश्चिमी पहिरन, आत्मविश्वासी व्यक्तित्व र स्टाइलका कारण उनले त्यतिबेलाको परम्परागत नायिकाको छविलाई नयाँ रूप दिएकी थिइन्।
उनले दीवार, अमर अकबर एन्थोनी, शान र नमक हलाल जस्ता सफल चलचित्रमा अभिनय गरिन्। सन् १९७६ मा उनी टाइम पत्रिकाको आवरणमा स्थान पाउने पहिलो बलिउड अभिनेत्री बनेकी थिइन्। करिअरको उत्तरार्धमा मानसिक स्वास्थ्य समस्यासँग संघर्ष गरेकी उनी सन् २००५ मा आफ्नै निवासमा मृत फेला परेकी थिइन्।
२. जिनत अमान
जिनत अमानले बलिउडमा आधुनिक नायिकाको छवि स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिन्। सन् १९७० मा मिस एसिया प्यासिफिक अन्तर्राष्ट्रिय उपाधि जितेपछि उनी चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन्।
हरे रामा हरे कृष्णा, डन, सत्यम शिवम सुन्दरम र कुर्बानी जस्ता चलचित्रले उनलाई सुपरस्टार बनायो। साहसी भूमिका, पश्चिमी फेसन र आत्मविश्वासी शैलीका कारण उनी आफ्नो समयकी सबैभन्दा ग्ल्यामरस अभिनेत्रीमध्ये एक मानिन्छिन्। हाल पनि उनी सामाजिक सञ्जालमार्फत आफ्ना अनुभव साझा गर्दै चर्चामा रहने गर्छिन्।
३. ममता कुलकर्णी
१९९० को दशकमा ममता कुलकर्णी बोल्ड फोटोसुट र ग्ल्यामरस छविका कारण निकै चर्चामा रहिन्। एक चलचित्र पत्रिकाका लागि गराएको फोटोसुटले ठूलो विवाद निम्त्याएको थियो।
उनले करण अर्जुन, सबसे बड़ा खिलाड़ी र बाजी जस्ता चलचित्रमा अभिनय गरेकी थिइन्। चलचित्रबाट टाढिएपछि उनको नाम विभिन्न कानुनी विवादसँग जोडिए पनि उनले आफूमाथि लगाइएका आरोपहरू अस्वीकार गर्दै आएकी छन्।
४. मन्दाकिनी
राज कपूर निर्देशित राम तेरी गंगा मैली चलचित्रबाट मन्दाकिनी रातारात चर्चामा आएकी थिइन्। चलचित्रका केही दृश्य र उनको ग्ल्यामरस प्रस्तुतिले व्यापक चर्चा पाएको थियो।
पछि उनको नाम अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग जोडेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भए। तर मन्दाकिनीले ती दाबीहरूलाई सधैं अस्वीकार गर्दै आफूबीच कुनै प्रेम सम्बन्ध नरहेको बताएकी छन्। त्यसपछि उनले चलचित्र क्षेत्रबाट दूरी बनाइन्।
५. अनु अग्रवाल
आशिकी चलचित्रबाट रातारात चर्चामा आएकी अनु अग्रवाल १९९० को दशककी लोकप्रिय अभिनेत्री र मोडल हुन्। उनको सौन्दर्य, ग्ल्यामरस छवि र सरल अभिनयले उनलाई छोटो समयमै दर्शकमाझ लोकप्रिय बनाएको थियो।
सन् १९९९ मा भएको गम्भीर सडक दुर्घटनापछि उनी लामो समय कोमामा रहिन्। त्यसपछि उनको चलचित्र करिअर लगभग समाप्त भयो। अहिले उनी योग, स्वास्थ्य र प्रेरणादायी कार्यक्रममार्फत सक्रिय रहने गर्छिन्।
६. रेखा
रेखा बलिउडकी उत्कृष्ट अभिनेत्रीमध्ये एक मानिन्छिन्। उनले उमराव जान, सिलसिला, खुन भरी मांग लगायतका चलचित्रमा सशक्त अभिनय गरेर धेरै पुरस्कार जितेकी छन्।
अभिनयसँगै उनको सौन्दर्य, पहिरन, मेकअप र व्यक्तित्वले उनलाई दशकौँसम्म ग्ल्यामरको प्रतीक बनायो। उनको व्यक्तिगत जीवन, विशेषगरी अमिताभ बच्चनसँग जोडिएका चर्चाहरू पनि लामो समयसम्म भारतीय सञ्चारमाध्यममा चर्चाको विषय बने। यद्यपि दुवैले यस्तो सम्बन्धबारे सार्वजनिक रूपमा पुष्टि गरेका छैनन्।
७. पूनम ढिल्लों
पूर्व सुन्दरी प्रतियोगिताकी विजेता पूनम ढिल्लों १९८० को दशककी सफल अभिनेत्री हुन्। आकर्षक व्यक्तित्व, मोडलिङ र ग्ल्यामरस छविका कारण उनी निकै लोकप्रिय भइन्।
उनले नुरी, सोहनी महिवाल, तेरी मेहरबानियाँ लगायत धेरै चलचित्रमा अभिनय गरेकी छन्। अभिनयसँगै उनको सौन्दर्य र फेसन शैलीले पनि उनलाई बलिउडमा विशेष पहिचान दिलायो।











प्रतिक्रिया