निर्मल पुर्जासहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा ल्याइयो


काठमाडौँ।

पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहित चार जनाको शव संकलन गरी आधारशिविर (बेस क्याम्प)मा ल्याइएको छ।

निर्मल पुर्जाका व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मिङ्मा डेभिड शेर्पाले सामाजिक सञ्जालमार्फत शव उद्धार सम्पन्न भएको जानकारी दिएका हुन्।

उनका अनुसार अत्यन्तै कठिन र जोखिमपूर्ण परिस्थितिमा सञ्चालन गरिएको उद्धार अभियानपछि निर्मल ‘निम्स’ पुर्जा, झोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव सुरक्षित रूपमा ब्रोड पिकको आधारशिविरमा पुर्‍याइएको हो।

मिङ्माले उद्धार अभियानमा संलग्न पर्वतारोही सिरबाज खान तथा सम्पूर्ण उद्धार टोलीको साहस, व्यावसायिक दक्षता र समर्पणको प्रशंसा गर्दै आभार व्यक्त गरेका छन्। कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच पनि अभियान सफलतापूर्वक सम्पन्न हुनु उद्धार टोलीको अथक प्रयासको परिणाम भएको उनले उल्लेख गरेका छन्।

उद्धार कार्यमा सहयोग पुर्‍याउने पाकिस्तान सेना, पाकिस्तान सरकार, गिल्गित–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अन्य सहयोगी संस्था र निकायप्रति पनि उनले धन्यवाद व्यक्त गरेका छन्।

मिङ्माका अनुसार घटनापछि अझै तीन जना पर्वतारोही सम्पर्कविहीन छन्। मौसम र सुरक्षा अवस्था अनुकूल हुनेबित्तिकै उनीहरूको खोजी अभियान पुनः अघि बढाइने उनले बताएका छन्।