नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त स्वास्थ्यमन्त्री मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति; मन्त्रालयमा शपथ ग्रहणपछि आजै पदबहाली गर्दै


काठमाडौँ ।

नेपाल फार्मेसी परिषद्को अध्यक्ष पदमा कादिर आलम नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै आलमलाई परिषद्को नयाँ अध्यक्षका रूपमा नियुक्त गरेकी हुन्। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणलगत्तै उनी बिजुलीबजारस्थित नेपाल फार्मेसी परिषद्को कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हाल्दै छन्। खुला प्रतिस्पर्धाबाट छनोट यसअघि मन्त्रालयले फार्मेसी परिषद्को अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत दरखास्त आह्वान गरेको थियो।

खुला विज्ञापन अनुसार आवेदन दिएका योग्य उम्मेदवारहरूमध्येबाट अन्तिम चरणको अन्तर्वार्ताका लागि नामावली प्रकाशन गरिएको थियो। छनोट प्रक्रियाअन्तर्गत मन्त्रालयले आलमसहित धर्मप्रसाद खनाल, प्रदीप लम्साल, बाबुराम हुमागाईँ, विजय यादव, राजकुमार थापा र लीला जोशी गुरुवाचार्यलाई अन्तर्वार्ताका लागि बोलाएको थियो। प्रतिस्पर्धीहरूमध्येबाट आलमको अनुभव, योग्यता र कार्ययोजनालाई दृष्टिगत गर्दै मन्त्रीस्तरीय निर्णयबाट उनलाई अध्यक्षको जिम्मेवारी दिइएको हो।

फार्मेसी क्षेत्र सुदृढीकरणको अपेक्षा नेपालमा फार्मेसी शिक्षाको नियमन, जनशक्तिको दर्ता, गुणस्तर नियन्त्रण तथा पेशागत मर्यादा कायम राख्ने मुख्य जिम्मेवारी फार्मेसी परिषद्को हो। पछिल्लो समय औषधि पसलहरूको अनधिकृत सञ्चालन, नक्कली औषधिको बिक्री-वितरण र जनशक्तिको दरबन्दी एवं दर्तासम्बन्धी विभिन्न चुनौतीहरू देखिँदै आएका छन्। खुला प्रतिस्पर्धात्मक विधिबाट संस्थागत नेतृत्व चयन भएसँगै फार्मेसी शिक्षा र पेशालाई अझ पारदर्शी, व्यवस्थित र मर्यादित बनाउन नवनियुक्त अध्यक्ष आलमको कार्यकाल सफल हुने विश्वास लिइएको छ। पदबहालीसँगै उनले परिषद्को सेवा प्रवाहलाई चुस्त बनाउने र औषधि नियमन सम्बन्धी कामलाई प्राथमिकता दिने बताएका छन्।