
उदयपुर । जापान सरकारको सहयोगमा २०४४ सालमा स्थापना भएर २०४९ सालदेखि व्यावसायिक रुपमा गैडा छाप सिमेन्ट उत्पादन शुरु गरेको दक्षिण एसियाकै पहिलो र ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योग अब दातृ निकायको सहयोगमा सञ्चालनको तयारी भइरहेको संकेत पाइएको छ ।
अहिले आर्थिक रुपले लथालिङ्ग अवस्थामा पुगेको उदयपुर सिमेन्ट उद्योगको उत्पादन ठप्प छ भने उत्पादन भएको सिमेन्ट प्याकिङ गर्ने बोराको अभावले भकारीमा थन्किएर बसेको छ । उद्योगको विभिन्न प्रकारका बैंक खाता मुद्दा मामिलाका कारण रोक्का रहेकोले खातामा रहेको पैसा पनि निकालेर खर्च गर्न सक्ने अवस्था छैन । कुनै खातामा बजारबाट रकम जम्मा भयो भने त्यो रकम सामान सप्लायर्सले निकाल्ने र पुनः खाता बन्द गरेर उद्योगको आर्थिक कारोबार नै रोकिने गरेको छ ।
एक विश्वसनीय स्रोतका अनुसार उद्योगको अवस्था आर्थिक रुपले जर्जर भएको हुँदा यसलाई सुधारेर सञ्चालन गर्न मन्त्रालयमा छलफल भइरहेको छ । र, दातृ निकायको आर्थिक सहयोग वा ऋण लिएर सञ्चालन गर्ने भन्ने विषयमा छलफल चलिरहेकोले असोज महिनासम्म परिणामका लागि कुर्नुपर्ने हुन्छ ।
उदयपुर सिमेन्ट उद्योगलाई एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालन गर्ने आन्तरिक तयारी भइरहेकोले यस विषयमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबीचमा छलफल हुँदै गरेको अवस्था छ । उद्योगको अवस्थाका बारेमा अध्ययन समिति गठन भएको र सो समितिले तयार पारेको प्रतिवेदनका आधारमा कसरी सञ्चालन गर्ने भन्ने बारे निर्णय हुने स्रोतले जनाएको छ ।
यस विषयमा उद्योगका निमित्त महाप्रबन्धक वैधनाथ झाले पनि उद्योग नयाँ व्यवस्थापनका साथमा सञ्चालन गर्न मन्त्रालयमा आवश्यक छलफल भइरहेको र आर्थिक पाटोलाई कसरी समाधान गर्ने हो, त्यो भने निर्णय हुन बाँकी रहेको बताए ।
निमित्त महाप्रबन्धक झाले उद्योगभित्र धेरै प्रकारका समस्या रहेका छन्, ती सबै समस्या एकै पटक समाधान हुन नसक्ने भएकोले चरणबद्धरुपमा समाधान गर्ने र प्राथमिकताका आधारमा काम गर्दै जाने योजना अनुरुप उद्योग सञ्चालनको प्रक्रिया प्रारम्भ हुने बताएका छन् ।
उद्योगका अध्यक्ष एवम् उद्योग मन्त्रालयका सहसचिव युवराज अधिकारीसँग उद्योग सञ्चालनका बारेमा मोबाइलका माध्यमबाट जिज्ञासा राख्दा सरकारसँग उद्योग चलाउन आर्थिक सहयोग माग गरिएको र पैसा आयो भने सञ्चालन हुने कुरा आफूले सुनेको बताउनुभयो । पहिले उद्योग कसरी सञ्चालन गर्ने भन्ने हो, उद्योग सञ्चालन भएपछि अन्य कुराहरु पछि हुने उहाँले बताउनुभयो । उहाँले उद्योग सञ्चालन प्रक्रियाका बारेमा योजना तय भइरहेकोले यसको परिणामका लागि असोजसम्म पर्खनुपर्ने अवस्था रहेको समेत बताउनुभयो ।
अहिले उद्योगमा कर्मचाररीहरु स्थायीतर्फ १ सय ७५ जना रहेको र सुरक्षातर्फ करारका ५८ जना रहेका छन् । आवश्यकता अनुसार कामका लागि दैनिक ज्यालादारीसमेत खटाउनुपर्ने अवस्था रहेको छ । तर कर्मचारीहरुले १६ महिनादेखि तलब नपाएको अवस्था छ । कर्मचारी सञ्चयकोषको रकम ४ वर्षदेखि जम्मा नभएको, नागरिक लगानी कोषको रकम ३ वर्षदेखि जम्मा नभएको, बिमाबापतको रकम ३ वर्षदेखि नपाएको अवस्था छ । यति मात्र होइन, चार वर्षअघिदेखि अनिवार्य र स्वैच्छिक अवकाशमा गएका कर्मचारीहरुले उद्योगको नियमानुसार पाउनुपर्ने सेवा–सुविधाबापतको रकमसमेत नपाएको अवस्था छ ।
अर्को महत्वपूर्ण कुरा के हो भने, उद्योगबाट अनिवार्य र स्वैच्छिक अवकाशमा गएका कर्मचारीहरुमध्ये १० जनाले आर्थिक अभावका कारण उपचार नपाएर नै ज्यान गुमाउनुपरेको कुरा सबैभन्दा पीडादायी र मर्मस्पर्शी छ । बिरामी भएर अस्पतालको बेडमा सुतिरहेको अवस्थामा आफूले उद्योगबाट पाउनुपर्ने सेवा–सुविधा नपाउँदा कस्तो पीडा भयो होला वा हुन्छ होला ? त्यो हामी सहजै अनुमान लगाउन सक्दैनौँ । कतिपयले क्यान्सरजस्तो घातक रोगबाट ज्यान गुमाए । कतिपयले किड्नी फेल भएर डायलासिस गराउन नपाएर, कतिपय मुटुको समस्याले ज्यान गुमाए । कतिपय पक्षघात भएर त कतिपय सुगर, प्रेसरको समस्याले गर्दा ज्यान गुमाउन बाध्य भएका छन् । कतिपय अहिले देशका विभिन्न ठाउँका अस्पतालका बेडमा आर्थिक अभावले छटपटिरहेका छन् ।
यदि उद्योगको आर्थिक अवस्था बलियो भएको भए अवकाश पाएका कर्मचारीहरुले यो हबिगत भोग्नुपर्ने थिएन । कुवेरजस्तो हुनुपर्ने उद्योग अहिले सुदामा जस्तो भएर कनिका माग्दै हिँड्नुपरेको सत्य सरकारका सामु छर्लङ्ग भएको अवस्था रहेकोले यसलाई कुन तरिकाले चलाउँदा पुनः पहिलेको अवस्थामा नै ल्याउन सकिन्छ भन्ने कुरालाई ध्यान दिएर अघि बढ्नुपर्ने अवस्था रहेको जानकारहरु बताउँछन् ।
उद्योगलाई आवश्यक पर्ने विभिन्न प्रकारका कच्चा पदार्थ, कोइला, मेसिनरी पार्टपुर्जालगायतका अनेकौँ सामान सप्लायर्समार्फत ल्याइएकोमा उनीहरुलाई भुक्तानी दिन बाँकी रहेको छ । सबै खाले दायित्व र उद्योगलाई आवश्यक पर्ने खर्चसमेत गरेर करिब ३ अर्बको हाराहारीमा उद्योगले भुक्तानी गर्न बाँकी रहेको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार विगतमा भएका राजनीतिक नियुक्तिका कारण आर्थिक अनुशासन कायम गर्न नसक्दा उद्योगले अहिले आर्थिक रुपले दुरावस्था भोग्नुपरेको हो भने तत्कालीन अवस्थाका सञ्चालक समितिका पदाधिकारीहरुको लोभी–पापी मनको मौनताले गर्दा पनि उद्योगले अहिलेको अवस्था भोग्नुपरेको स्रोतको दाबी छ ।
विगतका कामकुराहरुलाई पन्छाएर अहिले उद्योगलाई कसरी जीवित राख्ने र हालको दायित्व कसरी फरफारक गर्ने भन्ने विषय नै महत्वपूर्ण रहेकोले उद्योग सञ्चालन भएमा सबैको हित हुने हुँदा उद्योग सञ्चालनको माध्यम नै पहिलो विकल्पका रुपमा रहेको छ । किनभने उद्योगमा आश्रित सयौँ कर्मचारी तथा मजदुरहरुको भविष्य जोडिएकोले पनि उद्योग सञ्चालन हुनुपर्ने देखिन्छ, जसले गर्दा मुलुकको समृद्धिमा समेत टेबा पुग्नेछ ।











प्रतिक्रिया