विश्वकपमा देखिएका पाकिस्तानी जिदान र दुई झण्डे जुत्ता

0
Shares

काठमाडौं।

विश्व फुटबलको सबैभन्दा भव्य र प्रतिष्ठित मञ्च फिफा विश्वकपमा यसपटक एउटा यस्तो अभूतपूर्व र सनसनीपूर्ण अध्याय थपिएको थियो । जसले दक्षिण एसियाली खेलकुदको सिंगो भूगोलमै एउटा शक्तिशाली कम्पन पैदा ग¥यो । म्यानचेस्टर युनाइटेडका पूर्व प्रतिभाशाली मिडफिल्डर जिदान इकबालले इराकका तर्फबाट मैदानमा पाइला टेक्दै पुरुष विश्वकपको इतिहासमा एउटा स्वर्णिम पाना लेख्न सफल भए । यो ऐतिहासिक क्षण केवल इराकका लागिमात्र एउटा ठूलो उपलब्धि थिएन, बल्कि २४ करोडभन्दा बढी जनसंख्या भएको र फिफा वरीयताको १९८औँ स्थानको पुछारमा संघर्ष गरिरहेको फुटबलको भोको राष्ट्र पाकिस्तानका लागिसमेत एउटा ऐतिहासिक उत्सव र गौरवको महाकुम्भ सावित भयो ।

आफ्नो सम्पूर्ण फुटबल इतिहासमा जम्मा एउटामात्र छनोट खेल जितेको र विश्वकपको मुख्य मञ्चमा कहिल्यै पाइला टेक्न नसकेको राष्ट्र पाकिस्तानका करोडौँ समर्थकहरूले पहिलोपटक विश्वकपको मैदानमा आफ्नै रगत, पहिचान र साझा सपनालाई संघर्ष गरिरहेको जीवन्त दृश्य देख्न पाए । म्यानचेस्टरमा जन्मे–हुर्केका २३ वर्षीय यी युवा स्टारले इराकको जर्सी लगाएर मैदानमा खेले पनि उनी विश्वकप खेल्ने इतिहासकै ‘पहिलो पाकिस्तानी मूलका खेलाडी’ बने । जसले विश्वभर छरिएर रहेका पाकिस्तानी समुदायलाई एउटै भावनात्मक सूत्रमा बाँध्न सफल भएको छ ।

सामाजिक सञ्जालमार्फत यो विषयबारे थाहा पाउँदा स्वयम् आश्चर्यचकित बनेका इकबाल आफ्ना बुबाको देश पाकिस्तान र आमाको देश इराक दुवैको समृद्ध विरासतप्रति असाध्यै गर्व गर्छन् । बेलायतको आधुनिक वातावरणमा हुर्किए पनि आफ्ना बुबा र हजुरबुबाको जन्मथलो पाकिस्तानप्रतिको अगाध सम्मानलाई उनले विश्वकपको मैदानमै एउटा निकै रोचक र आकर्षक शैलीमा प्रस्तुत गरेर विश्वकै ध्यान खिचे । उनी मैदानमा उत्रिँदा आफ्नो बायाँ जुत्तामा इराकको झण्डा र दाहिने जुत्तामा पाकिस्तानको झण्डा सजाउने गर्छन् । जुन अभूतपूर्व दृश्यले दुवै देशका समर्थकहरूको छाती गर्वले ढक्क फुल्ने गरेको छ ।

यसअघि म्यानचेस्टर युनाइटेडको एकेडेमीबाट निस्किएर झन्डै २० वर्षपछि च्याम्पियन्स लिग खेल्ने पहिलो बेलायती दक्षिण एसियाली खेलाडी बन्दै इतिहास रचिसकेका इकबालको यो यात्रा अब नयाँ पुस्ताका लागि एउटा बलियो र जीवन्त ऊर्जा बन्ने निश्चित छ । उनले आफैँ पनि फुटबलको यात्रा निकै कठिन र उतारचढावले भरिएको हुने भन्दै आफ्नो यो उपस्थितिले कुनै पनि पृष्ठभूमि, क्षेत्र, वा धर्मका बच्चाहरूलाई व्यावसायिक फुटबलर बन्ने र ठूलो सपना देख्ने आँट र प्रेरणा मिल्ने दह्रो विश्वास व्यक्त गरेका छन् ।

अहिले पाकिस्तानमा फुटबलको विकास र विश्वभरका पाकिस्तानी प्रतिभाहरूलाई प्रवद्र्धन गर्ने ‘पाकिस्तानी ट्यालेन्ट्स’ जस्ता सामाजिक सञ्जालका माध्यमहरूमात्र होइनन्, आम फुटबल प्रशंसकहरू पनि जिदान इकबालको खेल हेर्न लालायित हुने गर्छन् । फुटबल विश्लेषकहरूका अनुसार अहिलेसम्म विश्वकप जस्तो विश्वव्यापी मञ्चमा पाकिस्तानी प्रतिनिधित्व शून्यप्रायः रहेको अवस्थामा जिदानले उच्चतम स्तरमा आफ्नो पहिचानलाई खुला रूपमा अँगालेको देख्दा हरेक दक्षिण एसियाली युवामा नयाँ आत्मविश्वास पलाएको छ । यही कारणले गर्दा विश्वभरका बेलायती–पाकिस्तानी र स्थानीय प्रशंसकहरूले भर्खरै सम्पन्न विश्वकपमा पाकिस्तानको आफ्नै टोली नभए पनि इराकलाई आफ्नो टोली मानेर शृंखलाबद्ध रूपमा समर्थन गरेका थिए ।

उनीहरूको नजरमा यो खेल इराकको मात्र नभएर, २४ करोड पाकिस्तानीको सामूहिक सपनाको एउटा ऐतिहासिक उडान पनि हो भन्ने गहिरो आभास दिलायो । अर्कोतर्फ, इराकका लागि पनि २०२६ को विश्वकप यात्रा कुनै ठूलो युद्ध जितेभन्दा कम थिएन । किनकि टोलीले २१ वटा थकाउने र कठिन छनोट खेलहरू पार गर्दै ४० वर्षको लामो पर्खाइपछि विश्वकपमा आफ्नो स्थान सुरक्षित गरको थियो । अनौठो संयोग के छ भने, इराकले यसअघि सन् १९८६ मा मेक्सिकोमै पहिलोपटक विश्वकप खेलेको थियो र अहिले ४० वर्षपछि फेरि मेक्सिकोकै धर्तीमा आफ्नो ऐतिहासिक पुनरागमन ग¥यो ।