लमजुङ।
लमजुङ सेवा समिति हङकङले जिल्लाका दुई फरक परिस्थितिका पीडित परिवारलाई करिब नौ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
सोमबार बेसीशहर–७ स्थित रेडियो मर्स्याङदीमा आयोजित कार्यक्रममा लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङका संरक्षक एवं पूर्व संविधानसभा सदस्य जमिन्द्रमान घलेको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
रोजगारीका सिलसिलामा हङकङमा रहेका लमजुङका एक सय ३३ जनाबाट संकलित ८ लाख ५७ हजार रुपैयाँ पीडित परिवारलाई राहतस्वरुप वितरण गरिएको लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङका अध्यक्ष मीना गुरुङले जानकारी दिनुभयो ।
समितिले बेसीशहर नगरपालिका–५, नाल्मा गैरी गाउँ निवासी ७० वर्षीय सुरेन्द्रकुमार गुरुङलाई मुखको क्यान्सर उपचारका लागि ४ लाख २८ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेको छ । गुरुङ हाल चितवन मेडिकल कलेज, भरतपुरमा उपचाररत छन् ।

त्यसैगरी, गत वर्ष मर्स्याङदी गाउँपालिका–६ मा निर्माणाधीन ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजनामा कार्यरत रहँदा पहिरोमा परी ज्यान गुमाएका बेसीशहर नगरपालिका–१०, रातोमाटो निवासी ४४ वर्षीय लगनध्वज गुरुङको परिवारलाई पनि ४ लाख २८ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरिएको छ । उक्त रकम मृतकका श्रीमती यमुना गुरुङलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै संरक्षक जमिन्द्रमान घलेले विदेशमा रहेका लमजुङवासीले जन्मभूमिप्रतिको जिम्मेवारी र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै निरन्तर मानवीय सेवामा योगदान पु¥याइरहेको बताउनुभयो । यस सहयोगले पीडित परिवारलाई राहत पुग्नुका साथै समाजमा सहयोग, सद्भाव र मानवीय भावनालाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष सन्देश पौडेल, महासंघका केन्द्रीय सदस्य कृष्ण केसी, निर्वतमान अध्यक्ष आश गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
लमजुङ सेवा समिति हङकङले विगतदेखि नै जिल्लामा अक्षयकोष स्थापना गरी लमजुङ सेवा समिति हङकङ सम्पर्क समिति लमजुङमार्फत सामाजिक, शैक्षिक, स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको जनाएको छ ।











प्रतिक्रिया