नुवाकोटका सूचना प्रविधि अधिकृत तामाङ घुससहित अख्तियारको नियन्त्रणमा


काठमाडौं ।

नुवाकोटको म्यागङ गाउँपालिकामा कार्यरत सूचना प्रविधि अधिकृत विरेन्द्र तामाङलाई घुस/रिसवत लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार नियन्त्रणमा लिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार भुक्तानी भइसकेपछि पनि सेवाग्राहीसँग ‘कमिसन’ माग्दै बार्गेनिङ गरी दुःख–हैरानी दिएको भन्ने उजुरीका आधारमा आयोगले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा तामाङले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

अख्तियारले भ्रष्टाचारजन्य गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अनुरूप अनुसन्धानलाई तीव्रता दिइरहेको बताएको छ। साथै, घटनासम्बन्धी थप विवरण अनुसन्धानको क्रममा सार्वजनिक गरिने आयोगले जनाएको छ।