वरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष डा. सत्यमोहन जोशी र साहित्यकार डा. इन्दुल केसीको व्यक्तित्व तथा योगदानमा आधारित पुस्तक ‘डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार बनेपामा सार्वजनिक गरिएको छ।
पत्रकार ज्ञानमणि नेपाल ‘कालोटोपी’ को सम्पादनमा प्रकाशित उक्त पुस्तक शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजित विशेष समारोहका बीच सार्वजनिक गरेको हो। पुस्तकको विमोचन सम्पादक ज्ञानमणि नेपाल ‘कालोटोपी’ र वरिष्ठ साहित्यकार अरुणबहादुर खत्री ‘नदी’ ले संयुक्त रूपमा गर्नुभएको थियो।
कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले पुस्तक सार्वजनिक गर्दै संस्थाले साहित्य, पत्रकारिता र सिर्जनात्मक लेखनको प्रवर्द्धन गर्दै निरन्तर पुस्तक प्रकाशन गरिरहेको बताउनुभयो। उहाँका अनुसार २०६८ सालमा स्थापना भएको शब्दयात्रा प्रकाशनबाट हालसम्म २८३ वटा पुस्तक प्रकाशित भइसकेका छन्। प्रकाशन संस्थाले प्रत्येक वर्ष साहित्य, पत्रकारिता तथा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै पुस्तक प्रकाशन र साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै आएको उहाँले जानकारी दिनुभयो।
सम्पादक ज्ञानमणि नेपाल ‘कालोटोपी’ काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० निवासी हुनुहुन्छ। उहाँ विगत २३ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। यस अवधिमा करिब १० वटा सञ्चारमाध्यममा कार्य गरिसक्नुभएका उहाँ हाल नेपाल पत्रकार महासंघ काभ्रे शाखाका कार्यसमिति सदस्य, मध्यमार्ग साप्ताहिकका सहसम्पादक तथा कालोटोपी डटकमका सञ्चालक एवं सम्पादक हुनुहुन्छ। उहाँका अन्य पुस्तकहरू पनि प्रकाशनको तयारीमा रहेको जानकारी दिइएको छ।
सोही अवसरमा शब्दयात्रा प्रकाशनले साहित्य, पत्रकारिता तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका आठ जना स्रष्टालाई ‘शब्दयात्रा प्रकाशन पुरस्कार’ प्रदान गरी सम्मान गरेको छ।
यस वर्ष सम्मानित हुने व्यक्तित्वहरूमा केदार शाक्य (सङ्खुवासभा), राममणि दुङ्गेल (भक्तपुर), नीरा अधिकारी (ललितपुर), विवश पोखरेल (मोरङ), सन्ध्या पहाडी (कपिलवस्तु), अरुणबहादुर खत्री ‘नदी’ (तनहुँ), पासाङ दोर्ची शेर्पा (भोजपुर) र पूर्णबहादुर कर्माचार्य (काभ्रेपलाञ्चोक) रहनुभएको थियो।
कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशनका आजीवन सदस्य कालिका त्रिपाठी पन्तले गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार, पत्रकार, लेखक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले पुस्तक प्रकाशनलाई ज्ञान, विचार र सिर्जनाको संरक्षण तथा पुस्तान्तरण गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै शब्दयात्रा प्रकाशनले नेपाली साहित्य र पत्रकारिताको विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले यस्ता साहित्यिक गतिविधिले नयाँ पुस्तालाई अध्ययन, लेखन र अनुसन्धानतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए।











प्रतिक्रिया