काठमाडौं।
अत्याधुनिक विद्युतीय एसयूभी (ईभी) लिपमोटर B03X नेपाल आइपुगेको छ। नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले उक्त ईभीलाई छिट्टै विशेष कार्यक्रममार्फत औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।
कम्पनीका अनुसार सार्वजनिक कार्यक्रमसँगै लिपमोटर B03X को बुकिङ पनि खुला गरिनेछ। ‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’ अवधारणामा आधारित यस एसयूभीलाई नेपाली सडक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दाबी छ।
लिपमोटर B03X मा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले CLTC मापदण्डअनुसार एकपटक पूर्ण चार्जमा ५०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
यसमा ५१० लिटर क्षमताको बुटस्पेस, फराकिलो केबिन तथा ADAS लेभल–२ सुरक्षा प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
लिपमोटर विश्वव्यापी अटोमोबाइल समूह स्टेलान्टिसको साझेदारीमा सञ्चालन भइरहेको ब्रान्ड हो। कम्पनीका अनुसार चीनको न्यू इनर्जी भेहिकल (NEV) स्टार्टअप ब्रान्डका रूपमा स्थापित लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ। जुलाई महिनामा मात्रै एक लाखभन्दा बढी युनिट बिक्री भएको कम्पनीले जनाएको छ।
हाल लिपमोटरको ४० भन्दा बढी देशमा १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्र रहेको कम्पनीले जनाएको छ।











प्रतिक्रिया