उद्योगी प्रकाश मुन्दडाको घरमा प्रहरी छापा:  ‘सूचना पुष्टि भएन’ भन्दै अनुसन्धान टोली फिर्ता

खोजतलासीको कानुनी आधार सार्वजनिक गर्न उद्योग परिसंघ कोशीको माग

0
Shares

विराटनगर ।

  अवैध हुन्डी कारोबार तथा ठूलो परिमाणमा नगद लुकाएर राखिएको हुन सक्ने विशेष सूचनाका आधारमा नेपाल प्रहरीले विराटनगरस्थित देवनरा (मुन्दडा) समूहका सञ्चालक प्रकाश मुन्दडाको निवासमा सोमबार बिहान व्यापक खानतलासी गरेको छ। करिब चार घण्टाभन्दा बढी समय सञ्चालन गरिएको प्रहरी अप्रेसनमा कुनै पनि अवैध सामग्री फेला नपरेपछि प्रहरी टोली फर्किएको छ। जिल्ला प्रहरी कार्यालय मोरङको नेतृत्वमा सञ्चालन गरिएको अप्रेसन बिहान करिब ४ः४५ बजे सुरु भएको थियो। विराटनगर महानगरपालिका–७, पण्डित मेघराज शर्मा मार्गस्थित मुन्दडा निवास तथा त्यससँग सम्बन्धित सम्पूर्ण परिसरमा प्रहरीले विस्तृत खोजतलास गरेको थियो। 

अप्रेसन बिहान करिब ९ः३० बजे सम्पन्न भएको हो। खानतलासीका क्रममा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै प्रहरीले मुन्दडा निवास वरपर कडा सुरक्षा व्यवस्था मिलाएको थियो। गोल्छाचोकदेखि जिल्ला प्रशासन कार्यालय चोकसम्मको सडक केही समयका लागि आवतजावतमा रोक लगाइएको थियो भने सर्वसाधारणको आवागमनसमेत सीमित गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले विशेष सूचनाका आधारमा कानुनी प्रक्रिया पूरा गर्दै खानतलासी गरिएको बताउनुभयो । उहाँका अनुसार अनुसन्धानका क्रममा घर र परिसरका सबै सम्भावित स्थानमा खोजतलास गरिए पनि सूचनाअनुसारको कुनै अवैध सामग्री फेला परेन। 

‘हामीलाई अवैध सामान रहेको भन्ने सूचना प्राप्त भएको थियो। सोही आधारमा कानुनी प्रक्रिया पूरा गरेर खानतलासी गरेका हौं,’ एसपी कटवालले भन्नुभयो, ‘यदि अवैध सामग्री भेटिएको भए बरामद गरेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइन्थ्यो। तर प्राप्त सूचनाअनुसार केही पनि फेला परेन, त्यसैले प्रहरी टोली फर्किएको छ।’ देवनरा समूहका सञ्चालक वेनीगोपाल मुन्दडाले प्रहरीले घरका सबै कोठा, दराज तथा अन्य संरचनाको विस्तृत निरीक्षण गरेको जानकारी दिए। उनका अनुसार खोजतलासपछि कुनै पनि शंकास्पद वस्तु नभेटिएकाले प्रहरी टोली थप कारबाहीबिनै फर्किएको हो।

नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रकाश मुन्दडाले राज्यका अनुसन्धान निकायलाई सहयोग गर्नु प्रत्येक नागरिकको दायित्व भएको प्रतिक्रिया दिनुभयो । उनले आफूहरूले प्रहरी अनुसन्धानलाई सामान्य रूपमा लिएको उल्लेख गर्दै प्राप्त सूचना गलत भएको हुन सक्ने बताउनुभयो । ‘राज्यका निकायले अनुसन्धान गर्नु आफ्नो जिम्मेवारी हो। हामीले पूर्ण सहयोग गरेका छौं,’ उहाँले भन्नुभयो , ‘कसैले दिएको गलत सूचनाका आधारमा अनुसन्धान भएको देखिन्छ। केही पनि नभेटिएपछि प्रहरी टोली फर्किएको छ।’  

 खानतलासीका  विषयमा मोरङ प्रहरीले विज्ञप्ति जारी गर्दै प्रस्टीकरण दिएको छ ।  अवैध रूपमा  गैरकानूनी चिज बस्तु लुकाई राखेको  भन्ने सूचनाको आधारमा खानतलासी गर्दा सूचना वमोजिम गैरकानूनी सामानहरु फेला नपरेको मोरङ प्रहरीले बताएको छ  ।अनुसन्धानका लागि प्राप्त सूचनाका आधारमा कानुनी प्रक्रिया अनुसार खानतलासी गरिएको  मोरङ प्रहरीले प्रस्टीकरण दिएको छ । मोरङ प्रहरीले, विज्ञप्तिमार्फत  बेनी गोपाल मुुन्दडाको घरमा गैरकानुनी चिजवस्तुहरू लुकाई राखिएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली उक्त घर ठेगानामा पुगी रीतपूर्वक खानतलासी (सर्च) गरेको  तर सूचना अनुसारका गैरकानुनी सामानहरू फेला नपरेको भन्दै यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जनाइएको छ।   विराटनगरका स्थापित औद्योगिक घरानामध्ये एक मानिने मुन्दडा परिवार देवनरा समूहमार्फत उत्पादन, ज्वेलरी, जुट उद्योग तथा उपभोक्ता सामग्री क्षेत्रमा सक्रिय छ । समूहअन्तर्गत बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, हाइलाइफ चप्पललगायत विभिन्न औद्योगिक प्रतिष्ठान सञ्चालनमा छन्। प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ कोशीका वरिष्ठ उपाध्यक्ष हुनुका साथै मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्षसमेत हुनुहुन्छ। 

 यता नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले विराटनगरस्थित देवनरा ग्रुपका निर्देशक तथा परिसंघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्डडाको निजी निवास र कार्यालयमा नेपाल प्रहरीले गरेको लामो खोजतलासीप्रति गम्भीर चासो र आपत्ति जनाएको छ । परिसंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अनुसन्धान राज्यको अधिकार भए पनि त्यसको प्रयोग गर्दा संविधानले प्रत्याभूत गरेका मौलिक हक, गोपनीयताको अधिकार, मानवीय मर्यादा र सम्मानको पूर्ण संरक्षण हुनुपर्ने जनाएको छ । परिसंघका अनुसार बिहानै ठूलो संख्यामा प्रहरी परिचालन गरी निजी निवासलाई घेराबन्दी गर्दै करिब साढे पाँच घण्टासम्म खोजतलासी सञ्चालन गरिएको घटनाले सम्बन्धित परिवार मात्र होइन, समग्र निजी क्षेत्र र लगानीकर्तामा असुरक्षाको भावना सिर्जना गरेको छ । प्रहरीको कारबाही कुन कानुनी आधार, सूचना वा आवश्यकताका आधारमा गरिएको हो भन्ने विषयमा सरकारले आधिकारिक रूपमा स्पष्ट पार्नुपर्ने माग परिसंघले गरेको छ । खोजतलासीबाट के प्राप्त भयो भन्ने विषयमा पनि कानुनले अनुमति दिएको सीमाभित्र आवश्यक जानकारी सार्वजनिक गर्नुपर्ने उसको भनाइ छ ।

प्रकाश मुण्डडा नेतृत्वको औद्योगिक समूहले उत्पादन, निर्यात, रोजगारी र राजस्वमा उल्लेखनीय योगदान पु¥याउँदै आएको भन्दै परिसंघले उनी सफल उद्योगी तथा लगानीकर्ताका रूपमा परिचित रहेको उल्लेख गरेको छ । त्यस्ता उद्योगीमाथि गरिने कारबाहीले सम्पूर्ण उद्योग–व्यवसायी समुदायको मनोबलमा असर पार्ने चेतावनी पनि दिएको छ । परिसंघले मुलुक अहिले आर्थिक मन्दी, उत्पादनमा गिरावट, लगानी संकुचन, रोजगारी संकट र निजी क्षेत्रको घट्दो आत्मविश्वासजस्ता चुनौतीसँग जुधिरहेको अवस्थामा उद्योगीलाई त्रसित बनाउने शैलीका गतिविधिले लगानी वातावरण थप कमजोर बनाउने दाबी गरेको छ । यस्ता घटनाले स्वदेशी तथा विदेशी लगानी निरुत्साहित हुनुका साथै उद्योग–व्यवसाय पलायन हुने जोखिमसमेत बढ्ने उसको भनाइ छ । 

संघका प्रदेश अध्यक्ष पवनकुमार सारडाले जारी गरेको विज्ञप्तिमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश विधिको शासन, निष्पक्ष अनुसन्धान र न्यायिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको दोहोर्याइएको छ । तर कानुन कार्यान्वयनका नाममा निर्दोष नागरिक, उद्योगी वा लगानीकर्ताको सम्मान र मनोबलमा अनावश्यक क्षति पुग्ने कार्य लोकतान्त्रिक मूल्य, संवैधानिक भावना र लगानीमैत्री वातावरणसँग मेल नखाने उल्लेख गरिएको छ । परिसंघले सरकारले निजी क्षेत्रलाई त्रसित बनाउने होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा सम्मान गर्दै उद्योग, व्यवसाय र लगानीप्रति विश्वास बढाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएको छ । अन्यथा यस्ता घटनाले असुरक्षा, अन्योल र अविश्वास बढाएर मुलुकको समग्र आर्थिक विकास तथा लगानी वातावरणमा दीर्घकालीन नकारात्मक असर पर्ने चेतावनी पनि दिएको छ ।