न्यूयोर्क, (एजेन्सी)
विश्वकप फाइनल खेलमा हार बेहोरेको १२ दिनपछि अर्जेन्टिनी कप्तान लियोनेल मेसीले पहिलो खेल खेलेका छन् । एमएलएसअन्तर्गत् इन्टर मायामीका लागि खेलेका मेसी दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । तर, उनको टोली कोलम्बस क्रुसँग २–२ को बराबरीमा रोकिएको थियो ।
मायामीको घरेलु मैदानमा भएको खेलमा ३९ वर्षीय मेसी ५३औँ मिनेटमा डानिएल पिन्टेरको स्थानमा खेलेका थिए । मैदान प्रवेश गर्दा उनलाई समर्थकहरूले भव्य स्वागतसमेत गरे । खेल २–२ बराबरीपछि अन्त्यतिर उनले दुई वटा विजयी गोल गर्ने मौका गुमाएका थिए ।
बराबरीपछि इस्टर्न कन्फ्रेन्सको शीर्षस्थानमा रहेको नासभिल एससीभन्दा मायामी २ अंकले पछाडि छ । अब मायामीले लिग्स कपअन्तर्गत एट्लेटिको सान लुइस, मोन्टेरे र लियोनसँग प्रतिस्पर्धा गर्नेछ ।
मेसीले उत्तरी अमेरिकामा हालै सम्पन्न विश्वकपमा ८ गोल र ४ असिस्ट गर्दै अर्जेन्टिनालाई लगातार दोस्रो पटक फाइनलमा पु¥याएका थिए । तर अतिरिक्त समयमा स्पेनसँग १–० ले पराजित भएपछि अर्जेन्टिना उपविजेतामै सीमित भएको थियो ।











प्रतिक्रिया