पोखरामा महानगरको डोजर: महानगर खोस्रँदै, नागरिक आधा भत्काइएको घरमै बस्दै

0
Shares

पोखरा ।

पोखराको मध्यभाग हुँदै बग्ने फिर्के खोलाको अतिक्रमित खोलाघरमा पोखरा महानगरपालिकाको डोजर चल्यो । प्रधानमन्त्री बालेन्द्र साहले काठमाडौंको सुकुम्बासी बस्तीमा चलाएको डोजरको कम्पनले पोखरा तात्तिँदा अतिक्रमित फिर्केको खोलाघरमा डोजर चलेको बुझ्न कठिन छैन ।

महानगरले एकैपटक तीन ठाउँबाट डोजर चलाएर अभियानको सुरुवात ग¥यो । पोखरा वडा नम्बर २ र १८ को सिमाना अँधेरीकुना, पोखरा वडा ४ र ५ को सिमाना फिर्केपुल (बूढानीलकण्ठ मन्दिरनजिक) र पोखरा ७ र ८ को सिमाना जिरो किलोमिटरस्थित लायन्स क्लबको भवनबाट डोजर चलाउन शुरु गरेको थियो । निकै तामझामका साथ डोजर चलाउँदा पोखरा महानगरपालिकाका मेयरदेखि वडाध्यक्षहरु निकै सफलता हात पारेको झैँ गरी प्रस्तुति भइरहे ।

तर, अहिले महानगरको त्यो काम अलपत्र पर्दा भत्किएका घर जोखिममा मात्र परेका छैनन्, तिनै खाली गरिएका र आधा भत्किएकै घरमा मानिस पुनः बस्न थालेका छन् । कपडाको पर्दा, प्लास्टिक र पालकै भरमा भत्किएको घरमा नागरिक बस्न थालेपछि अहिले पुनः फिर्केखोलाले महानगरलाई गिज्याइरहेको छ ।

महानगरले आधा अपुरो काम गर्दा अहिले समस्या निम्तिएको हो । नागरिक अभियन्ता रामबहादुर पौडेलले जनप्रतिनिधिको निरीहताका कारण आज फिर्के खोला करिडोर अभियान नै असफल हुने हो कि भन्ने आशंका उब्जिएको बताउनुहुन्छ । फिर्के बचाउ अभियान हुँदै फिर्के–बुलौदी खोला बृहत् सफाइ अभियान चलाउँदै आएका अभियन्ता पौडेलले खोलाघर पूर्णरुपमा नहटाउनु रहस्यको कुरा रहेको सुनाउनुभयो ।

‘महानगरपालिकाले अहिले के प्रतिवेदन देखाइरहेको छ, थाहा छैन, यहाँ वास्तविकता र यथार्थ फरक देखिएको छ । अहिले भत्काएकै घरमा मानिसहरु बस्न थाले भोलि ठूलो बाढी वा भूकम्प नआउला भन्ने के ग्यारेन्टी छ ? राज्यले नागरिकको ज्यानलाई जोखिममा राख्न मिल्छ ? यो पूर्णरुपमा भत्काउन पर्छ कि पर्दैन । महानगरले जे भनिरहेको छ, कथनी र करनीमा फरक भनेको यही हो’, उहाँले भन्नुभयो, ‘यहाँ चारवटा वडा पर्छन् । ती वडाका प्रतिनिधिले भत्काउँदै गर्दा अब आफैँ भत्काउँछन् भनेर जोखाउने काम भयो । यो गलत काम हो ।’

यस्तै पोखरा महानगरपालिकाले खोलाघर आफैँ नहटाए महानगरपालिकाले हटाउने र त्यसमा लागेको खर्च घरधनीले तिर्नुपर्ने सूचना जारी गरेको थियो । उक्त कार्यबारे प्रश्न गर्नुपर्ने बेला आएको र महानगरले त्यो रकम नउठाउनुप्रति गम्भीर ध्यानाकर्षण भएको पौडेलको भनाइ छ ।

उता पोखरा महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रुद्रनाथ बरालले फिर्केअन्तर्गत वडा ८ मा सबै खोलाघर खाली भएको दाबी गर्नुभयो । फिर्के सिमाङ्कनपश्चात् खोलाघर हटाउने र खोलाको मापदण्डदेखि दायाँ–बायाँ ६–६ मिटर मापदण्ड कायम गर्ने गरी योजना बनाएअनुसार अघि बढ्ने जनाउनुभयो । ‘वडा ८ मा रहेका खोलाघरहरु हटिसकेका छन् । अब करिडोर निर्माणका लागि ६ मिटरभित्र पर्ने संरचना मुआब्जा दिएर आउने महानगरको योजना छ’, उहाँले भन्नुभयो । उता नागरिक समाजले भने वडा ८ भित्रका विभिन्न ९ संरचना पूर्णरुपमा नहटाइएको भन्दै खबरदारी गरिरहेको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहिले बर्खाको समय भएकाले केही नगरेको र बर्खा सकिएलगत्तै पुनः कार्य हुने बताए । महानगरपालिकाको रेकर्डअनुसार फिर्केका १६० खोलाघरका संरचनामा डोजर चलाएको थियो । १६० मध्ये ५८ वटा संरचना अझै पूर्णरुपमा भत्काउन बाँकी रहेको र ती बाहेक अन्य भत्काइएको महानगरका सुरक्षा नगर निरीक्षण शाखा प्रमुख पुरुषोत्तम थापाले जानकारी दिनुभयो । यस्तै २९ वटा संरचना पूर्णरुपमा घरधनी आफैँले भत्काउन शुरु गरिसकेका छन् । २२ वटा संरचनामा कुनै काम भएको छैन् । २५ वटा स्थायी र २६ वटा अस्थायी संरचनासमेत हटाउन बाँकी रहेका छन् । ३३ वटा हटाइएको छ भने ५ वटा कम्पाउन्ड वाल भत्काउन बाँकी रहेको छ ।

‘हामीले फिर्के खोलाको १६० वटा संरचनामा डोजर चलाएका हौं । कतिपय अवस्थामा डोजर जानै नसक्ने भएकाले भत्काउन सकिएन र त्यहाँका घरधनीलाई आफैँ भत्काउन भनेका छौं । उहाँहरुले भत्काउने काम गरिराख्नुभएको छ’, थापाले भन्नुभयो, ‘डोजर चलाएपश्चात् पुनः हामीले अनुगमनसमेत ग¥यौं । दुई हप्ताअघि मात्रै अनुगमन गरेर एक हप्तामा संरचना खाली गराउन भनेका हौं । बर्खा भएकाले उहाँहरुले एक हप्तामा सकिदैँन भन्नुभयो । त्यसपछि हामी अनुगमनमा गएका छैनौं ।’

राज्यले बर्खाको समयमा डोजर सञ्चालनमा रोक लगाउँदै आइरहेका कारण महानगरले तत्कालै डोजर चलाउने देखिँदैन । असार र साउन बढी प्राकृतिक प्रकोपको जोखिमको समय भएकाले समेत तत्कालै खोलाघर भत्काउने समेत देखिँदैन । उता थापाले भने कार्यालयले जे आदेश गर्छ सोहीअनुसार आफूहरु अघि बढ्ने सुनाउनुभयो ।

महानगरले २०८० साउन–भदौमा फिर्केखोलाको नापजाँच गरी ५८८ वटा सीमा स्तम्भ (पिलर) गाडेको थियो । नापजाँचका क्रममा खोला क्षेत्रभित्र सार्वजनिक जमिन मिचेर १६० भन्दा बढी स्थायी तथा अस्थायी संरचनाहरू बनेको पाइएको थियो । महानगरले फिर्केखोलाको सीमांकन (दायाँ–बायाँ ६÷६ मिटर छोड्नुपर्ने मापदण्ड) कार्यान्वयन गर्न र खोला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन यो अभियान चलाएको हो ।

यसअघि २०८० कार्तिकमा एक सूचना जारी गर्दै हटाउन भनेको थियो तर तत्कालीन समयमा महानगरपालिकाका मेयर धनराज आचार्य त्यो कामबाट पछि हटेका थिए ।

२०८० साउन ३ गते बासुदेव पौडेल नेतृत्वमा ३२ दिन लगाएर फिर्केको मुहानदेखि अन्तिम विन्दुसम्म खोलाको सर्वेक्षण भएको थियो । सर्वेक्षणका क्रममा फिर्केखोलालाई अतिक्रमण गरेर तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्च्याएको पाइएको थियो । सर्वेक्षणपश्चात् सार्वजानिक गरिएको प्रतिवेदनअनुसार खोला अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत गरी एक सय ६० वटा संरचना निर्माण गरिएका थिए । तीमध्ये खोलाका दायाँ–बायाँ व्यक्तिगत ३५ वटा स्थायी संरचना निर्माण गरिएका थिए । व्यक्तिगत नै अस्थायी ९७ वटा संरचना निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । यस्तै संस्थागतरुपमा भने १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएका छन् ।

अधिकतम ४० मिटरसम्म फैलिएको फिर्केखोला तीन मिटर ३० सेन्टिमिटरमा खुम्चिँदा यही क्षेत्रमा मात्रै स्थायी ६ वटा संरचना बनेका छन । खोला मिच्ने ती ६ वटै संरचना आरसीसी भवनहरु हुन् । व्यक्तिले खोला मिचेर घर बनाउँदा यो क्षेत्रमा फिर्के सबैभन्दा बढी खुम्चिएको छ । समितिले प्रतिवेदनमा शतप्रतिशत नै खोला घर (खोला हिँड्ने ठाउँ) मिचेर ३५ वटा स्थायी संरचना बनेको खुलाएको थियो ।

पोखरा–१८, सराङकोटको फेदी अँधेरीकुनाबाट शुरु भएको फिर्केखोला प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । खोलाले महानगरका वडा नम्बर १८, २, ४, ५, ६, ७ र ८ लाई छुन्छ । आठ किलोमिटर लामो खोला चारदेखि ३४ मिटरसम्म चौडाइमा फैलिएको छ । मुहानदेखि सात किलोमिटर अघि बढेपछि मालपोत कार्यालयभन्दा केहीमाथि गैरीखेतमा बुलौँदी खोला मिसिन्छ । त्यसपछि एक किलोमिटरको दूरीमा यो फेवातालमा मिसिन्छ ।