उही विकृतिको पुनरावृत्ति

282
Shares

नेपाली समाजको विकृति घटेन । संसारलाई सिकाउने गुरु राष्ट्र बन्नुपर्ने वैदिक धर्मदेशना गर्ने देश उही पुरानो विकृतिमा फसेको छ । राज्यको काम परिणाममुखी हुनुपर्ने थियो तर प्रचारमुखी बढी भयो । होटलमा छापा हान्दै हिँड्ने सुधन, बत्तीको तार काट्दै हिँड्ने गोकर्ण वा रिबन काट्दै हिँड्ने ओली बा सकी नसकी ¥याल काढ्दै भाषण गर्दै हिँड्ने देउवालाई हामीले परिवर्तनकारी भन्ठान्यौँ तर विडम्बना परिवर्तनकारी नभएर यी र यस्ता सबै प्रचारमुखी भए । ज्योतिषशास्त्रको अपमान गर्दै सातपल्ट प्रधानमन्त्री एकै व्यक्ति नेपालमा भनियो र ढाड खुस्केका देउबा हात भाँचेर स्वदेशमा मिलमिलाप भन्दै छन् ।

वर्षाको भेलजस्ते हुन्छ प्रचारको मात्र काम, हात लाग्यो शून्य । माक्र्स, लेनिन, माओ, स्टालिन, महाथिर, गान्धी, ओबामा, लिक्वानहरुले शायद यति प्रचार गरेनन् होला तर जीवन्त छन् अरस्तु, हब्स, लक र रुसोजस्ता राजनीतिक हस्तीहरु आजसम्म । चाणक्य, शंकराचार्य वा यहीँका भानुभक्त, देवकोटा, मोतिरामहरुले पनि प्रचारमा खासै लागेको पाइएन, अमर छन् र आ–आप्mना विषयमा गतिलो परिणाम दिएर गएका छन् । शहीदहरु एकैपल्टमा स्वाहा भए तर अजर–अमर भए, देश परिवर्तनका लागि धेरैले वीरगति प्राप्त गरेको हाम्रो इतिहास साक्षी छ । हाम्रा अगाडि देखिएका लिच्छवि वा मल्लकालीन सभ्यतामा पनि अहिलेको जस्तो प्रचारात्मक काम भएन होला, न जंगबहादुर वा अरु राणाहरुले गरे र पनि तिनले छोडेका कृतिहरुमा हामी रमाइरहेका छौँ । हाम्रा सामु देखिएका प्रचारशैली हरेक कामको युट्युबको बुम मुखैमा तेस्र्याइहाल्नु्पर्ने अवस्था कमसे कम पुर्खाले गरेन ।

स–सानो काममा पनि भाइरल हुने संस्कृति विकसित भइरहँदा देशमा उत्पादन करिब ठप्प छ, रोजगारी छैन, लगानी छैन, सबै वस्तु आयात गर्नुपर्दा व्यापारघाटा तीव्र छ, ऋणको भारी बढेको छ र आप्mनै भाषा, धर्म, संस्कृति, सभ्यता, संस्कार हराएको छ । पूर्वीय दर्शन हाम्रो धरोहर शास्त्रहरुले भनेका थिए– तिमी काम गर, उद्यमी बन, अल्छी नगर, कामको फल तिम्रो हातमा छैन । हरपल सुखी र खुशी हुन समाज सेवामा संलग्न रहु । अतीतका दुःखलाई बिर्स र सामाजिक सेवामा खटेर लाग । राज्यको सेवा गर्ने सुअवसर सबैलाई प्राप्त हुन्न । तर हामीमा न नैतिकता बाँकी छ, न इमानदारिता, न निष्ठा छ, न आप्mनो संस्कृति संस्कारमा गर्व नै छ ।

फटाहाहरुको बिगबिगी बढेकैले त होला हरेक कुना कन्दरामा सीसी क्यामेरा राख्नुपरेको, ठूला पर्खालले पनि काम नगरेको र भोटे कुकुरले पनि काम नगरेर अब सबका सब शंकाको घेरामा परेका, नयाँ–नयाँ कानुन बन्दा पनि ती ओझेलमै परे, आर्थिक अपराध मात्रै होइन, सामाजिक अपराधहरु बढिरहेका छन् । सुशासन, अनुशासन भएका देशहरुमा सीसी क्यामेरा सुविधाका लागि राखिन्छन्, शंकाका लागि होइन र मूल घरको ढोकाको साँचो राख्ने ढोकैमा बाकस किबोर्ड हुन्छ, सम्बद्ध व्यक्तिबाहेक अरुलाई चासो हुन्न र सानो–ठूलो केही भेटिएमा सम्बद्ध निकायमा बुझाउने चलन छ । नसोधी कसैले कसैको वस्तु लिँदैन । हामीकहाँ शैली बदलियो तर संस्कार बदलिएन, पात्रहरु फेरिए, शेली उही रह्यो । एउटाले राज्य दोहन ग¥यो भनेको अर्कोले ग¥यो–ग¥यो भन्दै गर्दा अहिलेकाले पनि गर्न लागे । सल्लाहकार, स्वकीय सचिव भन्दै आप्mना मान्छे हाल्न थाले, रोजगारीको ढोका लोकसेवाको ढोका बन्द गर्न थालियोे ।

ऋण धेरै भयो यस्तो हुनुहुन्न भनियो, परिवर्तन भयो राजनीति, ऋण थपियो, बैँकहरुबाट वचतकर्ताले ब्याज पाएनन्, लगानीयोग्य रकम लगानी भएन । महँगी पनि नियन्त्रण भएन । परल मोलको दोब्बरमा आयल निगमले तेल बेच्न छोडेन । संसारकै महँगो आन्तरिक उत्पादनको बिजुलीको भाउ घटेन, बरु घाँटीमै भ्याट झुन्ड्यायो मात्रै होइन, श्रावणदेखि लाग्ने बिजुली भ्याट असारकै खपत युनिटमा हालियो अवैधरुपमा । देश बोक्न देशमा राजनेताहरु चाहिन्छ, यहाँ राजनेता होइन नेता मात्रै भए, जसले केवल चुनाव मात्रै हेर्ने गरे ।

राजनेताहरु त देशबाट कहिल्यै भाग्नु वा तुइन चढ्नुपर्दैन, तिनलाई ठूलो सुरक्षा दस्ता पनि चाहिन्न, हरपल भोटर वा नागरिकका मनमा ती बसेका हुन्छन्, बुलेट गाडी पनि चाहिँदैन । ठूला नेताहरु मारिएका पनि छन् तर तिनले खराब काम गरेर होइन, जो मारिए इतिहासमा सुनाममा छन्, बद्नाममा छैनन् । लोकतन्त्रमा झुटको सहारा लिइएको छ, अस्पतालमा बिमा सेवा नाम मात्रको भएको छ । हामी दिन्छौँ सेवा भनेर पालिकाहरुले प्रचार गरिरहेका छन् । जब तिनीहरुसँग त्यो जनशक्ति, त्यो औजार, त्यो क्षमता नै छैन, क्षमता हुनेहरुले हात उठाइसकेका छन् । बिरामी पर्दा घरैमा चिकित्स, एम्बुलेन्स, औजार भन्ने हल्ला चल्छ । पाउनेले के–कति पायो, कहिल्यै प्रकाशमा आउँदैन । भ्रामक समाचारहरु दिएर झुटको पुलिन्दा बाँड्ने काम सरकारले मात्रै गरेको छैन, सामाजिक अगुवा अभियन्ता, धार्मिक भनिएका अगुवाहरुले पनि गरिररहेका छन्, केवल भाइरल संस्कृति हुर्कने र बाँकी संस्कति विकृत हुने यो शृङ्खला कहिलेसम्म चालू रहने हो ? स्पष्ट छैन ।

देशमा निर्यात बढ्यो रे । इतिहासमै ३ खर्बको निर्यात भयो भनिरहँदा आयातीत सोयाबिनको कच्चा तेलमै अधिक रकम खर्चिएको अवस्था छ । अलैँची निर्यात बढ्यो भनिरहँदा उत्पादन बढेको छैन । चिया निकासी तीव्र भनिरहँदा यही उत्पादनको भारी समस्या छ । धानको उत्पादन बढाउने भनिरहँदा समयमा बीउबीजन वा मल पाइएको छैन । सिँचाइ भने आकाशको भर रहेको छ र बाली भित्र्याउने बेला असिना–पानीले बाली मात्रै बगाउँदैन, खेतीपाती र किसानलाई नै बगाइदिन्छ र बिमा भने सरकार दिन असमर्थ छ । बजारको अभाव, सामान ढुवानीको कष्ट, धेरै बिचौलियको बजार, सिन्डिकेट, विषादी वस्तुको खाद्य के–के छैनन् समस्या र त रोग यति तीव्ररुपमा बढेको छ । टोलैपिच्छे अस्पताल, आयातीत औषधि, खानपिन, रहनसहन सबै नक्कली । शारीरिक अभ्यासको कमी, केवल मोबाइलको संसार, आफन्त टाढिएको अवस्था छ । सामाजिक संस्कारमा दिवालियापन, खोक्रो विदेशी संस्कृति, मौलिकतामा कमी, केवल नौटंकी भएको अवस्था छ ।

असार १५ मा धानको बालाको माला, श्रावणमा दूधभन्दा कोक, प्mयान्टा, डिउ खाने, फास्टफुड र जंकपूmडले शरीर बिगार्ने चाउचाउ संस्कृति हुर्कंदा बच्चैमा दीर्घरोग, यावत् दूरगामी समस्याहरु थपिएका छन् देशमा । केन्द्रीय बजेटमा १७ थरीका सुविधा निःशुल्क भनेर प्रचार गरेको देखिँदा के केमा रहेछ भनी हेर्दा नागरिकता सिफारिसमा रहेछ । विपन्न स्कूले बच्चाको सिफरिसमा रहेछ । स्कूलहरुले भने अहिले अभिभावकहरुलाई कसेर पैसा लिँदै छन् र छात्रवृत्तिमा रहेका विद्यार्थीलाई मासिक १० हजार बढीको बिल आएको छ । किन रे भने, आइतबारे बिदाले कोर्स नसकिने भएर बेलुकी ४ बजेपछि एक घण्टा पढाउनुपरेको रे । आइतबारे बिदाले ल्याएको अरु विकृति पनि धेरै छ, असुली गर्नेलाई त यो दशैँ नै भएको रहेछ, यसो गर्न थपमाथि थप बोझ गर्न गएको भाद्रको जेनजी आन्दोलन भएको रहेछ । पहिले माओवादी आन्दोलनले कति महँगी बढायो, अहिले त्यही दोहोरिएको भान भइरहेको छ । इन्धनको मूल्य, वैज्ञानिक यातायात भाडा, ग्यासको आधा सिलिन्डर, त्यो पनि बिक्रेतासँग नाता लगाउन परेको अवस्था छ । नजिकको देशभन्दा धेरै वस्तुहरु महँगा छन् यहाँ, यहीँ आयस्रोतको अभाव छ ।

उद्योग कलकारखानाको अभावमा वैदेशिक रोजगारीको भीड यहीँ बढी छ, विप्रेषणको अब्बल र भ्रष्टाचारको देश भनेर चिनिएको छ । विधिको शासन, सुशासनको सुगा रटाइ दशकौँदेखि रटिएको छ । कानुनको कमी छैन यहाँ र फेरि भनिदै छ– यो बेला कानुन बनाउने बेला हो, तर प्रयोग भने भएको छैन, अदालत नपुग्दै बाटैमा छुट्छन् अपराधीहरु । त्यत्रा मान्छे मार्नेहरु उल्टै जब्बर भएर भाषण गर्दै छन् अहिले, आयोग बन्यो हावा भयो, छयालीसमा पनि बनेको थियो, अहिले पनि बन्यो पुस्तकालयका लागि ।

दुर्गम क्षेत्रमा समेत कंक्रीटका ठूला स्वास्थ्य भवनहरु अग्लिएका छन्, तर औषधि, उपकरण, जनशक्ति समग्र स्वास्थ्यसेवा होचिएको छ । डा. गोविन्द केसीले पटक–पटक अनशन गर्नुपरेको छ । रासायनिक मलविना देशैभरि ८३ प्रतिशत रोपाइँ हुँदा कृषिमन्त्रीले पुरानो भनाइभैmँ १५ दिनपछि रासायनिक मल वितरण सहज हुने बताएको अवस्था छ । लगनपछिको पोते, हाम्रो प्रतिकूल संस्कृति । भारतमा कक्रोच आन्दोलन दुई हप्तामा खासै पूर्वाधारको नोक्सान र मान्छेको अवसान पाइएन तर हाम्रोमा सानातिना घटनाहरुबाट पनि कति ठूलो नोक्सान धनको साथमा जनको पनि । पुरानाहरु मिलेर फेरि सत्ताको रसास्वादन गर्न उद्यत् छन् । ओली–प्रचण्डहरुले गला मिलाएका छन् ।

प्रचण्ड–ओलीहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । वाग्मती र लुम्बिनी प्रदेश एमालेले नेतृत्व गर्ने र कर्णाली र सदूर पश्चिम नेकपाले गर्ने भन्दै तम्सिएका छन्, पूर्ववत् भागवण्डामा । यसैको सिको गर्दै कंग्रेस पनि नयाँ सत्ता समीकरणमा दाउ हेरेर बसेको छ । पाँच वर्षअघि कहिल्यै नमिल्ने गरी विभाजनमा रहेका, दुई वर्षअघि त विघटन नै भएका र गएको चुनावमा भारी मतले पराजित भएका पार्टीहरु देशको बाध्यात्मक परिवेशले मिल्नुपरेको भन्दै काँध मिलाउन तत्पर रहेर अघि बढेका छन्, मानौँ रास्वपाबाहेक सबैसँग पूर्ववत् मिलन सम्भव छ र हिजोजस्तै देशको शासनमा पुनः अंशवण्डा गर्न सकिन्छ । विकृतिहरुको पुनरावृत्तिको संस्कृति पुनः बढेको छ ।