भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परे दुर्गा प्रसाईं


काठमाडौँ।

राजावादी अभियन्ता तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईं भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार बिहान प्रसाईंलाई निवासबाटै पक्राउ गरेको हो। प्रहरीले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ।

प्रहरीका अनुसार प्रसाईंलाई पक्राउ गर्नुअघि उनको निवास वरपर प्रहरी टोली परिचालन गरिएको थियो। पक्राउ पुर्जी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर भक्तपुर लगिएको थियो।

प्रसाईंले पछिल्लो समय निर्वाचन प्रभावित पार्ने तथा निर्वाचन नहुने दाबी गर्दै विभिन्न अभिव्यक्ति दिँदै आएका थिए। प्रहरीले उनका अभिव्यक्तिले निर्वाचनको वातावरणमा असर पार्न सक्ने भन्दै अनुसन्धान अघि बढाएको जनाएको छ।

यसअघि पनि प्रसाईं विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै आएका छन्। पछिल्लोपटक फागुन ४ गते काठमाडौंमा पक्राउ परेका उनी फागुन १३ गते सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए। उनकी पत्नी उमा प्रसाईंले गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। त्यसपछि सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।

पछिल्लो पक्राउसँगै प्रसाईंको गिरफ्तारीलाई लिएर राजनीतिक वृत्तमा पुनः बहस सुरु भएको छ। उनका समर्थकहरूले पक्राउको विरोध गर्दै आएका छन् भने प्रहरीले कानुनी प्रक्रिया र सार्वजनिक शान्ति कायम गर्ने उद्देश्यले अनुसन्धान अघि बढाइएको जनाएको छ।