तटबन्ध भत्काउन आएको एसएसबीसँग सुस्तावासीको प्रतिवाद


नवलपरासी। 

नेपाली भूमि सुस्तामा गरिएको तटबन्ध आइतबार भारतीय एसएसबीकाे सिबिल टाेलीले भत्काउन थालेपछि स्थानीयले त्यसकाे प्रतिवाद गरेका छन् ।
सुस्ता बस्तीलाई नारायणी नदीको कटानबाट राेक्न गरिएको अस्थायी तटबन्ध अपरान्ह सुस्ता पसेकाे एसएसबीकाे टाेलीले भत्काउन लागेकाे थाहा पाए लगत्तै  नेपाली सुरक्षाकर्मी र स्थानीयले उक्त स्थानमा पुगेर प्रतिवाद गरेको स्थानीय रवीन्द्र जयसवालले बताए ।

जयसवालका अनसार नदी कटान राेक्न गरिएको तटबन्ध भत्काउन नहुने भन्दै नेपाली पक्ष सशक्त रूपले प्रतिराेधमा उभिए पछि एसएसबी टाेली पछि हटेका हाे ।
यसै सम्बन्धमा सुस्ता बचाउ अभियानका संयाेजक आदम खाँले स्थानीय थारूटाेल क्षेत्रमा भारतीय एसएसबीले भत्काएकाे करिव १५ मिटर तटबन्धका विषयमा दुवै देशका सुरक्षा अधिकारी र स्थानीयबीच साेमबार छलफल गर्ने तय भएको बताए ।

बताईए अनुसार पश्चिम चम्पारण भेडीयारी थाना अन्तर्गतकाे एसएसबी टाेली सुस्ता पसेर नेपाली भूमिमा गरिएको तटबन्ध भत्काउन कस्सिएकाे हाे ।
सुस्तामा बिनियाेजित संघीय बजेटबाट यहाँकाे बस्ती जाेगाउन पक्की तटबन्ध गरिएको थियो भने केही भागमा कच्ची बाँध बाधिएकाे थियो ।
थारूटाेल सुस्ताका विभिन्न पुराना नेपाली बस्ती मध्यकै एक हाे । नदीको बाढीले यहाँको बस्ती विस्थापित गरिदिदिदा भारतीय पक्षले यसलाई विवादित क्षेत्र भन्दै योजना बद्ध रूपले हस्तक्षेप गर्ने गरेको स्थानीयहरू बताउँछन् ।