काठमाडौँ।
नेपाल ओलम्पिक संग्रहालय (एनओएम) ले नेपालको खेलकुद इतिहास, उपलब्धि र विरासतलाई एकै स्थानमा प्रस्तुत गर्ने उद्देश्यसहित देशकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ।
‘बियोन्ड मेडल्सस् प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ शीर्षकको प्रदर्शनी साउन १९ देखि २१ गते ९अगस्ट ४–६० सम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन हुनेछ।
नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित नेपाल ओलम्पिक संग्रहालयले खेलाडी, प्रतियोगिता र खेलसँग सम्बन्धित दुर्लभ तस्बिर, पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक वस्तुको संरक्षण र अभिलेखीकरण गर्दै आएको छ।
संग्रहालयले आफ्ना दिवंगत संस्थापक वरिष्ठ खेलकुद पत्रकार क्षितिज अरुण श्रेष्ठ र दक्षिण एसियाली खेलकुद तेक्वान्दो पदक विजेता मञ्जु तुमाधरको योगदानको सम्मानस्वरूप पनि यो प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ। प्रदर्शनीमार्फत नेपालको खेलकुद इतिहासलाई संरक्षण गर्दै भावी पुस्तालाई प्रेरित गर्ने लक्ष्य राखिएको छ।
३ दिनसम्म चल्ने प्रदर्शनीमा करिब पाँच लाख दुर्लभ तथा ऐतिहासिक तस्बिरबाट छनोट गरिएका तस्वीर, विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री र खेलकुदसँग सम्बन्धित ऐतिहासिक स्मृतिचिन्ह प्रदर्शन गरिनेछ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीको सहभागिता रहने अपेक्षा गरिएको जनाइएको छ।
आयोजकका अनुसार प्रदर्शनी विद्यार्थी, अनुसन्धानकर्ता, खेलकर्मी र सर्वसाधारणका लागि नेपालको खेलकुद इतिहासलाई नजिकबाट बुझ्ने अवसर बन्नेछ।
नेपालको खेलकुदको गौरवपूर्ण इतिहासलाई व्यापक रूपमा जनसमक्ष पुर्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने विश्वासका साथ प्रदर्शनीको प्रचारप्रसार र समाचार सम्प्रेषणमा सहयोग गरिदिन आयोजकले आग्रह गरेको छ।











प्रतिक्रिया