पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौँ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरेको हो।

नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ भने डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ।

यस्तै, आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले बढाइएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर १३१ अमेरिकी डलरले मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।

संशोधित मूल्यसूचीअनुसार पेट्रोल पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ।

डिजेल तथा मट्टीतेलको मूल्य पनि सोहीअनुसार पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको छ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्ग, सुर्खेत र दाङलाई दोस्रो वर्ग तथा काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ १९ पैसा र डिजेलमा प्रतिलिटर ३९ रुपैयाँ ६७ पैसा वृद्धि भएर आएको छ। सोही आधारमा स्वदेशमा पनि मूल्य समायोजन गरिएको हो।