अनाथ बालकहरूलाई नेपाली सेनाको विशेष भोजन


चिरञ्जीवी मास्के

दोलखा। 

सदरमुकाम चरिकोटमा रहेको नेपाली सेनाको गरुडदल गणले १४६ औं बार्षिकोत्सवको अवसरमा भीमेश्वर नगरपालिका वडा नम्बर– ६ रामकोट स्थित आमाको माया छात्रावासमा रहेका अनाथ तथा विपन्न बालकको लागि विशेष भोजन कार्यक्रम आयोजना गरेको छ । 

कार्यक्रमको अवसरमा आमाको माया छात्रावासमा रहेका ३८ जना बालक तथा स्टाफसहित ४० जनालाई सामूहिक रुपमा विशेष भोजन गराईएको गरुडदल गणका गणपति कर्णेल लोक सागर कटुवालले बताए ।

गणले विभिन्न अवसरहरुमा धार्मिक एवम् सांस्कृतिक मठ– मन्दिर, पर्यटकीय केन्द्र, सामाजिक संघ– संस्था, बालगृह, विपन्न तथा अनाथ बालबालिका रहेका छात्रावास लगायतमा विभिन्न प्रकारका सहयोग गर्दै आएको र सोहि अन्तर्गत  गणले १४६ औं  बार्षिकोत्सवको अवसरमा आमाको माया छात्रावासमा रहेका अनाथ तथा विपन्न बालकको लागि विशेष भोजन कार्यक्रम आयोजना गरेको गणपति कर्णेल लोक सागर कटुवालले बताए ।

जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरेको आमाको माया छात्रवास २०७२ सालको विनाशकारी भूकम्प पछि सञ्चालनमा आएको हो । छात्रवासमा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ओखलढुङ्गा, बझाङ, मुगु, बैतडी लगायत देशका २० भन्दा बढी जिल्लाका ३८ जना बालक रहेको जनजाति कल्याण आश्रम नेपालका विभाग संगठन सचिव गणेश कुमार प्रजाले बताए ।

छात्रवासमा रहेका बालकहरुमा ३५ जना चरिकोट स्थित कालिञ्चाक माध्यामिक विद्यालयमा विभिन्न कक्षामा अध्ययन गरिरहेका र ३ जना गौरीशङ्कर बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेको प्रजाले बताए । जनजाति कल्याण आश्रम नेपालको प्रदेश तथा केन्द्र र स्थानीय स्तरमा प्राप्त विभिन्न सहयोगबाट छात्रवास सञ्चालन भै रहेकोले नेपाली सेनाबाट प्राप्त माया छात्रावासको लागि महत्त्वपूर्ण रहेको विभाग संगठन सचिव प्रजाले बताउँछन् ।

विशेष भोजन कार्यक्रममा गरुडदल गणका गणपति कर्णेल लोक सागर कटुवाल, छात्रवास सञ्चालक समितिका उपाध्यक्ष शिव केसी, जनजाति कल्याण आश्रम नेपालका विभाग संगठन सचिव गणेश कुमार प्रजा लगायतको सहभागिता रहेको थियो ।