काठमाडौं।
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई सम्मान गर्दै ‘आईएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न गरेको छ।
शुक्रबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको हो। अभिकर्ताको योगदानको कदर गर्दै उनीहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रममा ३५० भन्दा बढी अभिकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, कम्पनीका सञ्चालक समिति अध्यक्ष तथा सदस्यहरू, उच्च व्यवस्थापनका प्रतिनिधिसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहभागीहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो। उहाँले कम्पनीको प्रगतिमा अभिकर्ताको मेहनत र प्रविधिको प्रयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा उच्चस्तरीय प्रविधिमार्फत सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले पछिल्लो आठ वर्षमा आईएमई लाइफले उत्साहजनक प्रगति हासिल गरेको बताउँदै प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहमा कम्पनीले उल्लेखनीय सुधार गर्दै आएको उल्लेख गर्नुभयो।
कम्पनीका सञ्चालक समिति अध्यक्ष डा. रामहरि अर्यालले बीमा अभिकर्ताहरूलाई केवल बिक्रीकर्ताभन्दा बीमा परामर्शदाताका रूपमा स्थापित हुनुपर्नेमा जोड दिनुभयो। उहाँले अभिकर्ताको व्यावसायिक क्षमता विकासका लागि कम्पनीले निरन्तर तालिम तथा सहयोग उपलब्ध गराउँदै जाने बताउनुभयो।
त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्काले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले हासिल गरेको उपलब्धिमा अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले कम्पनीले समयअनुसार सेवा सुधार गर्दै डिजिटल सेवाहरूलाई थप प्रभावकारी बनाउँदै लैजाने जानकारी दिनुभयो।
अवार्ड कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट प्रदर्शन गर्ने, धेरै बीमालेख जारी गर्ने तथा व्यवसायमा उल्लेखनीय योगदान पुर्याउने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट अभिकर्ताहरूलाई आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, अध्यक्ष डा. रामहरि अर्याललगायत सञ्चालक तथा निर्देशकहरूले अवार्ड प्रदान गर्नुभएको थियो।











प्रतिक्रिया