बागलुङका ग्रामीण विद्यालयमा डिजिटल शिक्षाको सकारात्मक प्रभाव, एपीएनआईसी फाउन्डेसनको टोलीद्वारा अवलोकन


काठमाडौं।

बागलुङका दुई ग्रामीण विद्यालयमा सञ्चालित डिजिटल शिक्षा परियोजनाले पठनपाठनमा सकारात्मक र दीर्घकालीन प्रभाव पारेको निष्कर्ष निकालिएको छ। परियोजनाको दीर्घकालीन प्रभाव मूल्यांकनका लागि एपीएनआईसी (APNIC) फाउन्डेसनको प्रतिनिधिमण्डलले विद्यालयहरूको स्थलगत अवलोकन गरेको हो।

नेपाल इन्टरनेट फाउन्डेसन (एनआईएफ) का अनुसार एपीएनआईसी फाउन्डेसनको सहयोगमा सञ्चालन गरिएको ‘डिजिटल विभाजन न्यूनीकरण : सूचना तथा सञ्चार प्रविधिमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण’ परियोजना अन्तर्गत बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका श्री जनप्रिय आधारभूत विद्यालय र श्री भीमदरबार आधारभूत विद्यालयमा आधुनिक सूचना तथा सञ्चार प्रविधिमा आधारित सिकाइको व्यवस्था गरिएको छ।

सन् २०२४ डिसेम्बर १४ मा सम्पन्न परियोजनाबाट हाल १०० जना विद्यार्थी र १९ जना शिक्षक प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्। परियोजनाअन्तर्गत कम्प्युटर, स्मार्ट सिकाइ उपकरण, भरपर्दो इन्टरनेट सेवा र आधुनिक आईसीटी कक्षाकोठा स्थापना गरिएको छ। विद्यालय परिसरबाहिरसमेत इन्टरनेट सेवा विस्तार गर्न आउटडोर वायरलेस एक्सेस पोइन्ट जडान गरिएकाले स्थानीय समुदायले पनि डिजिटल सेवा उपयोग गर्न पाएका छन्।

अवलोकनका क्रममा एपीएनआईसी फाउन्डेसनका प्रतिनिधिहरूले दुवै विद्यालयमा आईसीटी पूर्वाधार प्रभावकारी रूपमा सञ्चालनमा रहेको पाएका छन्। उनीहरूले शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायसँग छलफल गर्दै डिजिटल प्रविधिले पठनपाठनलाई थप प्रभावकारी र सहभागितामूलक बनाएको अनुभव सुनेका थिए।

शिक्षकहरूले डिजिटल उपकरणको प्रयोगले सिकाइ प्रक्रिया सहज र आकर्षक बनेको बताएका छन् भने विद्यार्थीहरूले नियमित रूपमा कम्प्युटर र इन्टरनेट प्रयोग गर्दै डिजिटल सिकाइमा आत्मविश्वास बढेको बताएका छन्। स्थानीय समुदायले विद्यालयबाहिरसमेत इन्टरनेट पहुँच विस्तार हुँदा अनलाइन सूचना र सेवामा पहुँच सहज भएको प्रतिक्रिया दिएका छन्।

भ्रमणकै क्रममा श्री जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई ५० वटा विद्यालय झोला (स्कुल ब्याग) पनि वितरण गरिएको थियो। विद्यालय व्यवस्थापन समितिले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै प्रतिनिधिमण्डललाई प्रशंसापत्रसमेत प्रदान गरेको जनाएको छ।

नेपाल इन्टरनेट फाउन्डेसनले परियोजनाले ग्रामीण क्षेत्रमा डिजिटल विभाजन कम गर्दै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान दिएको जनाएको छ। फाउन्डेसनले एपीएनआईसी फाउन्डेसनको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सहकार्यले दुर्गम क्षेत्रका बालबालिकालाई डिजिटल शिक्षामा समान अवसर उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

उक्त परियोजना एपीएनआईसी फाउन्डेसनको आईएसआईएफ एसिया (ISIF Asia) अनुदान कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो। यस कार्यक्रमले एसिया–प्रशान्त क्षेत्रमा इन्टरनेट पहुँच, डिजिटल पूर्वाधार र प्रविधिमा आधारित समावेशी विकासलाई प्रवर्द्धन गर्ने परियोजनालाई सहयोग गर्दै आएको छ।