काठमाडौं ।
समयमै क्यान्सर रोगको पहिचान गरी उपचार गर्न सके क्यान्सर निको हुने र उपचारका लागि विदेश धाउन आवश्यक नरहेको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार ललितपुरमा ’क्यान्सर विजेता र्याम्प शो–२०२६’ आयोजना गरियो ।




नेपाल क्यान्सर सहयोग समूह र ‘उपचारका लागि सहयोगी हातहरू’ को आयोजनामा तथा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर र सिल्भर लाइन हस्पिटलको सहकार्यमा सम्पन्न कार्यक्रममा क्यान्सरलाई पराजित गरी सामान्य जीवनमा फर्किएका विभिन्न उमेर समूहका व्यक्तिहरू एउटै र्याम्पमा उत्रिएका थिए ।
कार्यक्रममा हिमानी कोषका तर्फबाट सहभागी केन्द्रीय कार्यकारिणी सदस्य अधिराजकुमारी दिलाशा राज्यलक्ष्मी शाहले विपन्न क्यान्सर बिरामीको उपचार तथा जनचेतना अभिवृद्धिका लागि आयोजक संस्थालाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्नुभयो ।
यसैगरी कार्यक्रममा सहभागी विभिन्न दाताहरुले पनि विपन्न क्यान्सर बिरामीको सहयोगको लागि र क्यान्सरबारे जनचेतना फैलाउन आर्थिक सहयोग गरेका थिए ।
त्यस अवसरमा मिसेस नेपाल युनिभर्स २०२६ की विजेता एवम पहिलो मोडेल डली गुरुङ्ग याक्थुम्बा र बबी शाक्यलाई सम्मान गरियो ।
सो कार्यक्रम संघीय संसदकी सांसद डा.तोशिमा कार्की, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता थियो ।
र्याम्प शो मा तीन वर्षका बालकदेखि ८५ वर्षकी हजुरआमासाम्मले भाग लिएका थिए भने उनीहरूलाई उपचार गर्ने डाक्टरहरूले साथ दिएका थिए ।
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा.सुदीप श्रेष्ठ, र्याम्प शोकी संयोजक स्वरुपा श्रेष्ठ, सांसद कार्की, लेखक दामोदर पुडासैनी,र शशांक शर्माले पनि र्याम्प शोको बारेमा बोल्नुभयो ।











प्रतिक्रिया