आगामी भदौ २६ गते रिलिजमा आउने फिल्म माया भनेकै यस्तो होलाको प्रेमभावले भरिएको शीर्ष गीत सार्वजनिक गरिएको छ।
शुक्रवार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गीतको भिडियोमा पहिलो नजरमै बसेको प्रेम, त्यसपछिको भावनात्मक आकर्षण र प्रेममा डुबेको युवकको कल्पनालाई गीतले प्रस्तुत गरेको छ। गीतको भिडियोमा बिहेअघिको मेहन्दी समारोहदेखि बिहे र त्यसपछिको माया प्रेम दर्शाइएको छ।
सार्वजनिक गीतले फिल्म पूर्णरूपमा प्रेमकथामा आधारित रहेको संकेत गरेको छ। गीतमा एक युवक र तीन युवतीबीचको त्रिकोणात्मक प्रेम सम्बन्धलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ। सुन्दर युवती देखेपछि युवकको मनमा उठ्ने भावना र उसले बुनेका जीवनका कल्पनालाई गीतको मुख्य विषय बनाइएको छ।
प्रशान्त शिवाकोटीको शब्द तथा संगीत तथा प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडिया गम्भीर विष्टले कोरियोग्राफी गरेका छन्। गीतको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, विशाल पहाडी, रवि डंगोल, लक्ष्मी गिरीलगायतलाई प्रस्तुत गरिएको छ। फिल्मको निर्देशन लोकप्रिय अभिनेत्री रेखा थापाले गरेकी छन्। हिम्मतवाली र मालिका निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिल्म हो।
दिया एण्ड अमु फिल्म्स्को ब्यानरमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठद्वाा निर्मित फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्। साथै लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र विनोद पौडेलको पनि अभिनय रहेको फिल्ममा ध्रुव लम्सालको स्क्रिप्ट, प्रशान्त शिवाकोटीको संगीत र सुदीप बरालको डिओपी रहेको छ।
फिल्मलाई रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा वितरण गर्नेछन्।











प्रतिक्रिया