दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर–२, बाँसबोडेकी सम्झना खड्काले गाउँमै कृषि व्यवसाय गरेर मनग्य आम्दानी गरेकी छन् । डल्ले खुर्सानी र यसको बिरुवा बिक्री गरेर उनले वार्षिक ७ लाख रुपियाँभन्दा बढी आम्दानी गरेकी छन् ।
‘गतवर्ष मैले डल्ले खुर्सानी बिक्रीबाट झन्डै ६ लाख रुपियाँ कमाएको थिएँ । यसको बिरुवा बिक्रीबाट १ लाख ५० हजार कमाइ भएको थियो’, सम्झनाले भनिन् । यो वर्ष भने खुर्सानी बिक्रीबाट कम आम्दानी हुने देखिएको उनको भनाइ छ । तर खुर्सानीको बिरुवा बिक्रीबाट भने यो वर्ष राम्रै आम्दानी हुने उनले बताइन् ।
मेलुङ गाउँपालिकामा हेफर परियोजना सञ्चालन भएपछि सोही परियोजनाको सहयोगमा सम्झनाले डल्ले खुर्सानी र त्यसको बिरुवाको व्यावसायिक उत्पादन शुरु गरेकी थिइन् । पालिकामा हेफर परियोजना शुरु भएपछि त्यसैमा आबद्ध भएर आफू व्यावसायिक रुपमा कृषि पेसामा लागेको र पहिलोपटक यस परियोजनाका शान्त भट्टले इलामबाट ल्याएको डल्ले खुर्सानीको बिरुवा रोपेर व्यवसाय शुरु गरेको सम्झनाले बताइन् ।
‘मेहनत ग¥यो भने गाउँमै कृषि व्यवसाय गरेर पनि मासिक १ लाख रुपियाँ कमाउन मुस्किल छैन’, सम्झनाले भनिन् । आफूले कृषि व्यवसायमा लागेर पारिवारिक आम्दानीसँगै गाउँका केही युवालाई रोजगारीसमेत दिन सकेको उनको भनाइ छ ।
उनले अहिले डल्ले खुर्सानी र यसको बिरुवाको बिक्री वितरणसँगै एभोकाडो, कफी, जापानिज कटुस, तेजपत्ता, चाँपलगायतका बिरुवासमेत बिक्री गर्दै आएको बताएकी छन् । झन्डै १४ रोपनी जमिनमा शुरु गरेको यो व्यवसायले सरदर वार्षिक १० लाख कमाइ हुन सक्ने सम्झनाको भनाइ छ । उनको यो व्यवसाय प्रमोसनको लागि हेफर परियोजनासँगै मेलुङ गाउँपालिकाले समेत राम्रो सहयोग गरेको छ ।
मेलुङ गाउँपालिकाका अध्यक्ष हीराकुमार थोकरले कृषि व्यवसायमा सक्रिय युवा कृषक सम्झना खड्कालाई पालिकाले प्राविधिक सहयोग, बिरुवा तथा अन्य परामर्श दिँदै आएको बताए । यो वर्ष सम्झना खड्कासमेत सहभागी सेतीदेवी महिला समूहलाई खुर्सानी सुकाउने मेसिनसमेत उपलब्ध गराएको अध्यक्ष थोकरले बताए ।
मेलुङ गाउँपालिकाले आफ्नो व्यवसायको लागि प्राविधिक सहयोगसँगै बिरुवा र मर्चिङ प्लास्टिकसमेत उपलब्ध गराएको सम्झनाले बताइन् । अहिले आफूले उत्पादन गरेका बिरुवाहरु मेलुङ गाउँपालिकाले खरिद गरेर विभिन्न कृषक समूहलाई वितरण गर्दै आएको उनको भनाइ छ ।











प्रतिक्रिया