काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि योजनाबद्ध सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको दाबी गरेका छन्। उनले इरानसँग सम्झौता गर्ने सम्भावना देखिएकाले आक्रमण रोकिएको बताएका हुन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले अमेरिका र इजरायलले संयुक्त रूपमा आक्रमण स्थगित गर्ने निर्णय गरेको उल्लेख गर्दै इरानसँग छिटो सम्झौता गर्न सकिएमा सैन्य कारबाही आवश्यक नपर्ने बताएका छन्।
उनका अनुसार सम्भावित सम्झौतामा हर्मुज जलडमरूमध्य तत्काल, पूर्ण र स्थायी रूपमा खुला गर्ने तथा इरानको आणविक कार्यक्रमबाट उत्पन्न सुरक्षा जोखिम अन्त्य गर्ने विषय समावेश हुनेछ। ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्धयताकै सबैभन्दा शक्तिशाली सैन्य तयारीका साथ इरानविरुद्ध कारबाहीका लागि तयार अवस्थामा रहेको दाबी गर्दै इरान तथा मध्यपूर्वका केही देशको आग्रहपछि सम्झौताका लागि समय दिन आक्रमण स्थगित गरिएको बताएका छन्। उनले सम्भावित सम्झौताका मुख्य मापदण्डमा समेत प्रारम्भिक सहमति बनेको दाबी गरेका छन्।
यद्यपि ट्रम्पको उक्त दाबीबारे इरानले अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले सप्ताहन्तमा अमेरिकाले इरानमाथि थप तीव्र सैन्य आक्रमण गर्न सक्ने तयारी गरिरहेको समाचार सार्वजनिक गरेका थिए। यसैबीच, इरानले अमेरिकामाथि क्षेत्रीय तनाव बढाएको आरोप लगाउँदै वासिङ्टनसँग सहकार्य गर्ने कुनै पनि क्षेत्रीय मुलुक ‘युद्धको आगोमा जल्ने’ चेतावनी दिएको छ।
तनाव बढिरहेका बेला अमेरिकी सरकारले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। सुरक्षा सूचनामा हवाई उडान रद्द हुन सक्ने, केही देशको हवाई क्षेत्र समय–समयमा बन्द हुन सक्ने तथा यात्रामा अवरोध आउन सक्ने भएकाले आवश्यक परे तत्काल क्षेत्र छाड्न तयार रहन अमेरिकाले आफ्ना नागरिकलाई आग्रह गरेको छ।











प्रतिक्रिया