गोठाटार आगलागी अपडेट: १४ पसल जले, करोडौंको क्षतिको प्रारम्भिक अनुमान


काठमाडौं ।

काठमाडौंको गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा विभिन्न १४ वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार शनिबार राति करिब ९:१५ बजे रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम तथा सटरमा विद्युत् सर्ट (करेन्ट सर्ट) भई आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

आगलागीबाट फर्निचर, मोबाइल, कस्मेटिक, हेल्मेट, अटो पार्ट्स, हार्डवेयर, किराना, स्टेशनरी, मिठाइलगायतका पसलमा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा काठमाडौं, ललितपुर र भक्तपुरबाट पुगेका दमकलको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। प्रहरीका अनुसार आगलागीबाट भएको आर्थिक क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।

घटनास्थलमा मुचुल्का उठाउने, क्षतिको विवरण संकलन गर्ने तथा आगलागीको कारणबारे थप अनुसन्धान गर्ने काम जारी छ। यस घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।