माया गुरुङको सम्मानमा सांगीतिक साँझ

कल्याणकारी कोष स्थापना गरिने


लमजुङ, (नेस)। नेपाली लोकसंगीतकी अग्रज गायिका माया गुरुङ (देवीमाया थापा गुरुङ) को चार दशकभन्दा लामो सांगीतिक यात्राको सम्मानमा आगामी असोज १० गते लमजुङको बेसीसहरमा माया गुरुङ सांगीतिक साझ–२०८३ आयोजना गरिने भएको छ। कार्यक्रमबाट बचत रकम कलाकारको हितमा प्रयोग गर्ने उद्देश्यले कलाकार कल्याणकारी कोष स्थापना गरिने आयोजकले जनाएका छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङले पत्रकार सम्मेलनमार्फत कार्यक्रमको औपचारिक घोषणा गर्दै आर्थिक अभाव, स्वास्थ्य उपचार, दुर्घटना तथा अन्य आपत्कालीन अवस्थामा कलाकारलाई सहयोग पु¥याउने लक्ष्यसहित कोष स्थापना गर्न लागिएको जानकारी दिएको हो। बेसीसहर नगरपालिका–८ स्थित फूलबारी मञ्चमा हुने कार्यक्रममा राष्ट्रिय तथा स्थानीय चर्चित लोक तथा दोहोरी कलाकारको प्रस्तुति रहनेछ।

प्रतिष्ठानका निवर्तमान अध्यक्ष, संरक्षक तथा कार्यक्रम संयोजक अनुज अधिकारीले अग्रज कलाकारप्रति सम्मान व्यक्त गर्नुका साथै कलाकारको सामाजिक सुरक्षाका लागि दीर्घकालीन कोष निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार कार्यक्रमबाट करिब ३० लाख रुपैया आम्दानी हुने अनुमान गरिएको छ भने खर्च कटाएर बचत हुने करिब १७ लाख रुपैया कलाकार कल्याणकारी कोषमा जम्मा गरिनेछ। पत्रकार सम्मेलनमा गायिका माया गुरुङले आप्mनो सांगीतिक जीवनकै यो कार्यक्रम सबैभन्दा महत्वपूर्ण क्षण भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिन्।

बेसीसहर–५, नाल्मामा जन्मिएकी माया गुरुङ नेपाली लोकसंगीतमा मौलिक शैली स्थापित गर्ने अग्रज गायिकामध्ये एक हुन्। औपचारिक संगीत शिक्षा नलिए पनि गाउ घरको सांस्कृतिक वातावरणबाट संगीत यात्रा सुरु गरेकी उनी २०४० सालदेखि व्यावसायिक रूपमा लोकसंगीत क्षेत्रमा सक्रिय छिन्।

२०४५ सालमा रेडियो नेपालद्वारा आयोजित अञ्चलव्यापी खुला लोकगीत प्रतियोगितामा गाउ“सहरमा लमजुङ दरबार गीतबाट प्रथम हु“दै स्वर्ण पदक जितेपछि उनी राष्ट्रिय रूपमा परिचित बनेकी थिइन्। हालसम्म उनले २ सयभन्दा बढी लोकगीतमा स्वर दिएकी छन् भने ११ गीति एल्बम सार्वजनिक गरिसकेकी छन्।

सैलुङे डा“डा नाल्माको, माया सरर, खुर्पेटो डोकोले र डाडैको देवी देउराली उनका चर्चित गीत हुन्। लोकसंगीतमा पु¥याएको योगदानका लागि उनले रेडियो नेपालको स्वर्ण पदक, नेपाल सरकारको प्रबल जनसेवा श्री (चतुर्थ) तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको गण्डकी प्रतिष्ठान नारी सम्मानलगायतका सम्मान र पदक प्राप्त गरिसकेकी छन्।