नाज्का लाइन्समाथि पर्यटक बोकेको विमान दुर्घटना, १३ जनाको मृत्यु


काठमाडौं ।

दक्षिण अमेरिकी देश पेरूमा पर्यटक बोकेको सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यम र पेरूका अधिकारीहरूका अनुसार शनिबार भएको दुर्घटनामा विश्वप्रसिद्ध नाज्का लाइन्स माथि हवाई अवलोकन गराइरहेको सेस्ना क्याराभान सी–२०८ विमान दुर्घटनाग्रस्त भएको हो। विमानमा ११ जना विदेशी पर्यटक र दुई जना पाइलट सवार थिए।

पेरूको सरकारी समाचार एजेन्सीका अनुसार मृत्यु हुनेमध्ये दुई जना जर्मनी, दुई जना स्पेन र सात जना इटालीका नागरिक रहेका छन्। प्रहरी मेजर होर्खे आन्द्रादेले समाचार संस्था एएफपीसँग कुरा गर्दै दुर्घटना अत्यन्त भीषण भएकाले कसैको पनि जीवित उद्धार गर्न नसकिएको बताएका छन्। उनका अनुसार हालसम्म चार जनाको शव घटनास्थलबाट फेला परेको छ भने बाँकी शव खोज्ने तथा पहिचान गर्ने कार्य जारी छ।

स्थानीय समयअनुसार दिउँसो करिब १ बजे पिस्को विमानस्थलबाट उडेको विमान नाज्का लाइन्समाथि पर्यटकलाई दृश्यावलोकन गराइरहेका बेला दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त विमान स्थानीय एअरलाइन एरोडियानाको रहेको जनाइएको छ। दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र प्राविधिक त्रुटि, मौसमलगायत सबै सम्भावित पक्षबाट अनुसन्धान सुरु गरिएको पेरूका अधिकारीहरूले बताएका छन्।