धुलिखेल ।
रोटरी डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिष्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले रोटरी क्लब अफ धुलिखेललाई नेपालको मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट कार्यसम्पादन गर्ने क्लबका रूपमा स्थापित भएको बताउँदै आगामी दिनमा पनि यही साख, प्रतिष्ठा र सेवा भावलाई कायम राख्न आग्रह गर्नुभएको छ ।




रोटरी वर्ष २०२६–२७ का लागि आयोजित रोटरी क्लब अफ धुलिखेलको २९औँ पद हस्तान्तरण तथा पदस्थापन समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि कार्कीले धुलिखेल रोटरीले स्वास्थ्य, शिक्षा, खानेपानी, वातावरण संरक्षण, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक उत्तरदायित्व र मानवीय सेवाका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमहरूले अन्तर्राष्ट्रिय रोटरीको उद्देश्यलाई व्यवहारमा रूपान्तरण गरेको बताउनुभयो ।




उहाँले रोटरी केवल एउटा क्लब नभई समाज परिवर्तनको अभियान भएको उल्लेख गर्दै समाजको आवश्यकता पहिचान गरी दीर्घकालीन प्रभाव पार्ने योजनामा केन्द्रित हुन सबै क्लबलाई आग्रह गर्नुभयो । धुलिखेल रोटरीले विगतका वर्षहरूमा सञ्चालन गरेका खानेपानी, स्वास्थ्य, शिक्षा, विद्यालय सहयोग, छात्रवृत्ति, वातावरण संरक्षण तथा समुदायमुखी परियोजनाहरू अन्य क्लबका लागि पनि अनुकरणीय रहेको उहाँको भनाइ थियो ।
पछिल्लो समय नेपालको तराईका केही जिल्ला, विशेषगरी सुनसरीलगायत क्षेत्रमा धार्मिक सहिष्णुता खलबल्याउने घटनाप्रति चिन्ता व्यक्त गर्दै गभर्नर कार्कीले सम्पूर्ण नेपालीलाई जात, जाति, धर्म, भाषा वा संस्कृतिका नाममा विभाजित हुन नहुने बताउनुभयो ।
“नेपाल विविधतामा एकताको देश हो । हामी सबै नेपाली एउटै परिवारका सदस्य हौँ । कुनै पनि शक्तिले हाम्रो सामाजिक सद्भाव र भाइचाराको सम्बन्धलाई कमजोर बनाउन नपाओस् । रोटरीजस्ता संस्थाले समाजमा शान्ति, सहिष्णुता र मानवताको सन्देश फैलाउने काममा अझ अग्रसर हुनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले रोटरीका सातवटै प्राथमिकता क्षेत्रअन्तर्गत शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, वातावरण संरक्षण, मातृ तथा शिशु स्वास्थ्य, आर्थिक विकास र खानेपानी तथा सरसफाइका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले निर्वतमान अध्यक्ष डा.अनिश जोशीको पालामा भएका खानेपानी लगायतका कामको मुक्त कण्ठले प्रशसा गर्नुभयो ।
समारोहमा अध्यक्षको कार्यभार हस्तान्तरण गर्दै रोटेरियन जोशीले विगत एक वर्षमा क्लबले सञ्चालन गरेका कार्यक्रमहरूको समीक्षा प्रस्तुत गर्नुभयो । उहाँले क्लबले सेवा, पारदर्शिता, सदस्यता विस्तार तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले पदभार सोही समारोहमा हस्तान्तरण गर्नुभयो भने प्रमुख अतिथि कार्कीले रोटरीको माला लगाएर अध्यक्षलाई पदभार हस्तान्तरण गर्नुभएको थियो ।
नवनियुक्त अध्यक्ष मोहन कुमार श्रेष्ठले आगामी वर्ष क्लबलाई अझ सक्रिय, समावेशी र समुदायमुखी बनाउने प्रतिबद्धता जनाउनुभयो । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, युवा नेतृत्व विकास, महिला सशक्तीकरण, विद्यालय सहयोग, खानेपानी तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा नयाँ कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
पहिलो दिनमै ६ जना नयाँ सदस्यलाई प्रवेश दिई कार्यको प्रारम्भ गर्नुभएका श्रेष्ठले आगामी दिनको यात्रामा सबैका साथ, सहयोग र सदभावले क्लवलाई अघि बढाउन मदत पुग्ने बताउनुभयो । उहाँले आफु हेभी इकुप्मेन्ट व्यवसायी मात्र नभै सामाजिक उत्तरदायित्व बहन गर्ने जिम्मेवार व्यक्ति भएकै कारण दाप्चाको खानेपानी देखि देश विदेशको भ्रमणले अझ समाज र देशको लागि सेवा गर्ने हुटहुटी जागेको बताउनुभयो ।
कार्यक्रममा डिस्ट्रिक्टका पदाधिकारी, इमिडियट पास्ट डिष्ट्रिक्ट गभर्नर, असिस्टेन्ट गभर्नर, विभिन्न रोटरी क्लबका अध्यक्ष तथा पास्ट प्रेसिडेन्ट, रोटर्याक्ट प्रतिनिधि, विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
२०२७—२०२८ का निर्वाचिन अध्यक्ष दुर्गा कुवारले स्वागत मन्तव्यका क्रममा आयोजकले रोटरीको मूल मन्त्र ‘स्वार्थभन्दा माथि सेवा’ लाई व्यवहारमा उतार्दै समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपस्थित अतिथिहरूले धुलिखेल रोटरीले विगतका वर्षहरूमा सञ्चालन गरेका सामाजिक कार्यक्रमहरूको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्ययोजना अघि बढाउने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण अतिथि, डिष्ट्रिक्ट नेतृत्व, विभिन्न क्लबका प्रतिनिधि, सञ्चारकर्मी तथा रोटरी परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबैको साथ र सहयोगको अपेक्षा रहेको क्लवका सचिव निलुफर श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा रोटरीका पूर्व अध्यक्ष मणीककालु श्रेष्ठ, रोटरीयन शुशिल व्याञ्जु लगायतले क्लवको अक्षयकोषका लागि २ लाख पचास हजार र २ लाखको चेक क्लवका अध्यक्ष मोहकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँहरुले उक्त रकमको व्याजबाट प्राप्त हुने रकमबाट हरेक बर्ष शिक्षा र सम्बृद्धिका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई सम्मान तथा पुरस्कृत गर्ने बताउनुभयो ।
सहभागीहरूले आपसी सम्बन्ध सुदृढ गर्दै रोटरीको सेवा भावलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अवसरमा पूर्व डिष्ट्रिक गर्भनर ई.केशव कुँवरले रोटरी डिष्ट्रिकको भवन बनाउनका लागि ५० हजार सहयोग स्वरुप चेक डिष्ट्रिक गर्भनर कार्कीलाई हस्तान्तरण गर्नुभयो ।
रोटरी क्लब अफ धुलिखेल विगत तीन दशकदेखि काभ्रे जिल्लामा सामाजिक सेवाको अग्रणी संस्थाका रूपमा परिचित छ । क्लबले खानेपानी आयोजना, विद्यालय तथा स्वास्थ्य संस्थालाई सहयोग, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, विपद् व्यवस्थापन, छात्रवृत्ति, वातावरण संरक्षण, वृक्षारोपण, सरसफाइ अभियान तथा आर्थिक रूपमा विपन्न समुदायलाई सहयोग पु¥याउँदै आएको छ । समुदायको वास्तविक आवश्यकता पहिचान गरी दिगो विकासका कार्यक्रम सञ्चालन गर्ने क्लबको अभ्यासका कारण धुलिखेल रोटरीले जिल्ला मात्र होइन, डिष्ट्रिक्ट र अन्तर्राष्ट्रिय स्तरमै विशिष्ट पहिचान बनाएको छ ।
समारोहमा व्यक्त गरिएका धारणा, नयाँ नेतृत्वको प्रतिबद्धता र सामाजिक उत्तरदायित्वप्रतिको दृढ अठोटले आगामी दिनमा पनि रोटरी क्लब अफ धुलिखेलले “सेवामार्फत समाज रूपान्तरण“ को अभियानलाई अझ सशक्त रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा क्लवद्धारा प्रकाशित गरिएको अरनिको सोभिनियर कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले विमोचन गनुृभएको थियो । सोही अवसरमा क्लवलाई विशेष योगदान पुर्याउने सदस्यहरुका साथ धुलिखेलका पुराना कलाकार ( आर्टिस) चिरञ्जीवी माकजुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।











प्रतिक्रिया