१४ चुचुरा ६ महिनाभन्दा कम समयमा आरोहण गर्ने कीर्तिमानी नेपाली सधैँ प्रेरणाको स्रोत रहने
काठमाडौँ ।
विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जा पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा परी निधन भएको पुष्टि भएको छ । शनिवार उहाँको कम्पनी एलिट एक्स्पेडले आधिकारिक शोक वक्तव्य जारी गर्दै पुर्जाको निधन भएको पुष्टि गरेको हो । यससँगै ब्रोड पिक दुर्घटनामा ज्यान गुमाउने आरोहीको सङ्ख्या १० पुगेको छ, जसमा ६ नेपाली र ४ विदेशी रहेका छन् ।
दुर्घटनापछि सम्पर्कविहीन बनेका टोलीका सदस्यहरूको व्यापक खोजी भए पनि जीवित भेटिने सम्भावना समाप्त भएपछि कम्पनीले आधिकारिक रूपमा निधनको घोषणा गरेको हो । कम्पनीका अनुसार दुर्घटनामा निम्स दाइका विश्वासिला आरोहण साझेदार पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाका साथै ग्यालु शेर्पा, नवाङ ठेन्डु र किली पेम्बासहित अन्य सदस्यहरूको पनि मृत्यु भएको छ ।
कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ– ‘आज हामी अत्यन्तै गहिरो दुःख र हृदयविदारक पीडाका साथ ब्रोड पिकमा आएको हिमपहिरोपछि निर्मल ‘निम्स दाइ’ पुर्जाको दुःखद् निधन भएको पुष्टि गर्दछौँ । अभियानका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको छ ।’
पुर्जा केवल एक सफल पर्वतारोही नभई लाखौँ मानिसलाई ठूलो सपना देख्न, आफ्नै क्षमतामा विश्वास गर्न र सीमिततालाई चुनौती दिन प्रेरित गर्ने असाधारण व्यक्तित्वका रूपमा चिनिएका थिए । एलिट एक्स्पेड, निम्स दाइ फाउन्डेसन, स्काइडाइभ निम्स दाइ र निम्स दाइ स्टोरमार्फत उनले पर्वतारोहण र साहसिक पर्यटन क्षेत्रमा पु¥याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले पनि विश्व कीर्तिमानी पर्वतारोही निम्स दाइसहित ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका सम्पूर्ण आरोहीप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
शोक सन्देशमा प्रधानमन्त्री शाहले पाकिस्तानको काराकोरम पर्वतशृंखलामा अवस्थित विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकमा भएको दुर्घटनाले आफू स्तब्ध भएको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ– ‘विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिकमा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा चार विदेशी आरोहीहरूको दुःखद् निधनले स्तब्ध बनाएको छ ।’
प्रधानमन्त्री शाहले निर्मल पुर्जालगायत दिवंगत आरोहीहरूको भौतिक यात्रा रोकिए पनि उनीहरूको साहस, समर्पण र योगदान सधैँ जीवित रहने उल्लेख गर्नुभएको छ ।
बिहीबार गएको थियो हिमपहिरो
ब्रोड पिकमा बिहीवार बिहान करिब ९ः२० बजे भीषण हिमपहिरो गएको थियो । त्यसयता १० सदस्यीय आरोहण टोली सम्पर्कविहीन बनेको थियो । पाकिस्तानका उद्धार निकाय, हेलिकोप्टर टोली तथा अन्य पर्वतारोहीहरूले खोजी अभियान सञ्चालन गरे पनि खराब मौसम, उच्च जोखिम र विशाल हिमपहिरोका कारण उद्धार कार्य अत्यन्त कठिन बनेको थियो ।
अन्ततः शनिवार कम्पनीले टोलीका सदस्यहरू जीवित नरहेको पुष्टि गर्दै शोक वक्तव्य सार्वजनिक गरेको हो ।
निर्मल ’निम्स दाइ’ पुर्जाको निधनसँगै नेपालले विश्व पर्वतारोहण क्षेत्रका एक असाधारण प्रतिभा गुमाएको छ । उहाँले बनाएका विश्व कीर्तिमान, साहसिक अभियान, उद्धार कार्य र नेपाली पर्वतारोहणलाई विश्वमाझ चिनाउने योगदानका कारण उहाँ केवल एक सफल आरोही मात्र होइन, लाखौँ युवाका प्रेरणास्रोत बन्नुभएको थियो ।
उहाँको निधनले नेपाली पर्यटन, पर्वतारोहण उद्योग तथा विश्व साहसिक खेल समुदायमा अपूरणीय क्षति पुगेको छ । तर उहाँले स्थापित गरेका कीर्तिमान, नेतृत्व र ‘असम्भव भन्ने केही हुँदैन’ भन्ने जीवनदर्शनले भविष्यका पुस्तालाई निरन्तर प्रेरणा दिइरहने विश्वास व्यक्त गरिएको छ ।
को हुन् निर्मल ‘निम्स दाइ’ पुर्जा ?
निर्मल पुर्जाको जन्म सन् १९८३ मा म्याग्दी जिल्लाको दाना गाउँमा भएको थियो । सामान्य परिवारमा जन्मिएका उहाँले युवावस्थामै ब्रिटिस सेनामा प्रवेश गरी बेलायतको विशेष फौज ‘स्पेसल बोट सर्भिस’मा छनोट हुने पहिलो नेपालीमध्ये एक बनेर इतिहास रच्नुभएको थियो ।
सैनिक जीवनबाट अवकाश लिएपछि उहाँ पर्वतारोहणलाई आफ्नो मुख्य पेशा बनाउँदै छोटो समयमै विश्व पर्वतारोहण क्षेत्रकै चर्चित बन्न पुग्नुभयो ।
सन् २०१९ मा उहाँले ’प्रोजेक्ट पसिबल’ अन्तर्गत विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको थियो । यसअघि यो कीर्तिमान पूरा गर्न करिब आठ वर्ष लागेको थियो ।
उहाँको यही असाधारण उपलब्धिमाथि आधारित ‘१४ पिक्स ः नथिङ इज इम्पसिबल’ नामक वृत्तचित्र नेटफ्लिक्समार्फत विश्वभर लोकप्रिय बनेको थियो । उक्त वृत्तचित्रले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिलाएको मानिन्छ ।
निर्मल पुर्जाले अक्सिजनसहित र अक्सिजनबिनाका कठिन आरोहण, जाडो यामका सफल अभियान, उद्धार कार्य तथा जोखिमपूर्ण परिस्थितिमा पर्वतारोहीहरूको जीवन बचाउने अभियानमार्फत पनि अन्तर्राष्ट्रिय सम्मान कमाउनुभएको छ । उहाँले नेपाली शेर्पा तथा गाइडहरूको योगदानलाई विश्वसामु स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।











प्रतिक्रिया