एमाले परित्याग गरेपछि रौतहटका एक मेयर र वडा अध्यक्षको पद रिक्त

1.22k
Shares

रौतहट ।

निर्बाचन आयोगले दल त्याग गरेका रौतहटका एक नगरप्रमुख र वडा अध्यक्ष लाई पद मुक्त गरेको छ । ०७९ को स्थानीय तहको निर्बाचनमा नेकपा एमाले बाट निर्बाचित भएका देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमीलाल साह कानु र वडा नम्बर ४ का वडा अध्यक्ष राम प्रवेश प्रसाद कुर्मीले दल त्याग गरेको उजुरीको आधारमा निर्बाचन आयोगले उनीहरु लाई पद मुक्त गरेको हो ।

निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार नेपाल कम्युनिष्ट पार्टी -एमाले) परित्याग गरेको आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ बमोजिम दुवै जनप्रतिनिधिको पद स्वतः रिक्त भएको जनाएको छ । एमाले केन्द्रीय सचिवालयले प्रेमीलाल साह कानु र राम प्रवेश प्रसाद कुर्मीले पार्टीको विधानविपरीत गतिविधि गर्दै दल परित्याग गरेको निर्णयको प्रतिलिपि आयोगमा पठाएपछि उनीहरु लाई शुक्रबार कानुनी प्रक्रिया पूरा गरी निर्वाचित पद रिक्त गर्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले एकैपटक देशभरका विभिन्न स्थानीय तहका छ जना जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको छ, जसमा रौतहटका नगर प्रमुख प्रेमीलाल साह कानु र वडा अध्यक्ष राम प्रवेश प्रसाद कुर्मी पनि समावेश छन । देबाही गोनाही नगरपालिकाको प्रमुख साह लाई आयोगले पदमुक्त गरेसंगै रौतहटमा तीन वटा पालिका नगरप्रमुख बिहीन बनेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फतुवाबिजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादब र गडीमाई नगरपालिकाका प्रमुख श्याम यादब लाई बिषेश अदालतमा भ्रस्टाचार मुध्दा दायर गरेसंगै उनीहरुको पद रिक्त रहेको थियो ।