धनुषामा मन्दिर परिसरमा पुरुष मृत फेला, धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह


काठमाडौं ।

धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा करिब ४० वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृतक बन्ठु राउत मन्दिरका पुजारी नभई घुमन्ते प्रकृतिका व्यक्ति हुन्।

घटनास्थलमा कुकुरसहितको अनुसन्धान टोली परिचालन गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार मृतक बाहिर कामकाज गरी राति मन्दिरमा सुत्न आउने व्यक्ति रहेको र घटना आपराधिक समूहबाट भएको देखिएको प्रहरीको भनाइ छ।

प्रहरीले घटनालाई धार्मिक विवादसँग नजोडी शान्ति कायम राख्न सबै नागरिकसँग आग्रह गरेको छ। साथै घटनामा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।