नेदरल्यान्ड्समा नेपाल जितविहीन

अब, ओडीआई मान्यता जोगाउने चुनौती


काठमाडौं ।

नेदरल्यान्ड्समा भएको आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल जितविहीन बनेको छ । बुधबार भएको खेलमा नेदरल्यान्ड्ससँग ५७ रनले हारेपछि नेपाल जितविहीन बन्यो । यस सिरिजमा नेपालले घरेलु टोली नेदरल्यान्ड्स र नामिबियासँग २–२ खेल खेलेकोमा चारै खेलमा पराजय बेहोरेको हो ।

लिग टूको यो अभियानमा नेपाल दोस्रो पटक सबै खेलमा हारेको हो । यसअघि गत वर्ष अक्टोबर–नोभेम्बरमा दुबईमा भएको सिरिजमा नेपालले चारै खेल हारेको थियो । उक्त सिरिजमा नेपाल अमेरिका र यूएईसँग हारेको थियो । यसअघि नै क्यानडामा भएको सिरिजमा पनि नेपालले तीन खेलमा हार बेहोरेको थियो ।

नेपालको ब्याटिङमै समस्या
नेदरल्यान्ड्समा भएको सिरिजमा नेपालको ब्याटिङमै समस्या देखिएको छ । नेपालले चार खेल खेलेकोमा एउटा खेलमा (नामिवियाविरुद्ध) २ सय रन कटाएको थियो । नामिबियाले २ सय १२ रनको लक्ष्य दिएकोमा नेपालले २ सय ८ रन बनाएको थियो । यो खेलमा नेपाल ३ रनले हारेको थियो । यही एउटा खेल मात्रै नेपालको सम्झनलायक थियो ।

नेपालले अन्य तीन खेलमा भने १ सय ५० भन्दा बढी रन मात्रै जोडेको थियो । जसमा, नेपालले सुरुको दुई खेलमा नामिबिया र नेदरल्यान्ड्सविरुद्ध समान १ सय ५७ रन बनाएको थियो । अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध १ सय ६८ रन जोडेको थियो । जबकी नेदरल्यान्ड्सले २ सय २५ रन जोडेको थियो ।

नेपालको यस सिरिजमा प्रदर्शन
नेपालले यस विश्वकप लिग टूमा कूल ३२ खेल खेलेको छ । नेपालले ११ खेलमा जित हासिल गर्दा १८ खेलमा हार बेहोरेको छ । दुई खेल रद्द हुँदा २ अंक जोडेको छ । नेपाल कूल २४ अंकसहित अंकतालिकाको छैटो स्थानमा रहेको छ । नेपाल अमेरिका (४३ अंक), नेदरल्यान्ड्स (३८ अंक), स्कटल्यान्ड (३८ अंक), ओमान (३१ अंक) र नामिबिया (२६ अंक) भन्दा पछाडि छ भने क्यानडा (२४ अंक) र यूएई (१४ अंक) भन्दा माथि छ ।
नेपालको चार खेल बाँकी
नेपालले लिग टू २०२३–२०२७ अन्तर्गत् त्रिकोणात्मक सिरिजमा एक सिरिज मात्रै खेल्न बाँकी छ । नेपालले अन्तिम सिरिजमा क्यानडा र ओमानसँग खेल्नेछ । नेपालको लागि अब, एकदिवसीय (वानडे) मान्यता बचाउने चुनौती रहेको छ । नेपालले ८ अंक जोड्न सकेमा शीर्ष चारमा पुग्ने संभावना हुनेछ । तर यस्तो नतिजामा आउन ओमानले सबै खेल गुमाउनु पर्नेछ । तर, ओमानले एक खेल मात्रै पनि जितेमा नेपालको शीर्ष चारको आस त्यतिबेला नै सकिनेछ । यो लिग टू प्रतियोगिता वानडे मान्यता जोगाउने र आगामी विश्वकप २०२७ को छनोटमा पुग्ने माध्यम हो । यसको लागि शीर्ष चार स्थानमा पर्नुपर्दछ ।
नेपालको नतिजा
कूल ३२ खेल ११ जित १९ हार २ नतिजा अनिर्णित
अमेरिकाविरुद्ध ६ खेल २ जित ४ हार
नेदरल्यान्ड्सविरुद्ध ६ खेल ३ जित ३ हार
स्कटल्यान्डविरुद्ध ६ खेल ३ जित २ हार १ रद्द
ओमानविरद्ध ४ खेल १ जित २ हार १ रद्द
नामिबियाविरुद्ध ४ खेल चारैमा हार
क्यानडाविरुद्ध २ खेल दुबैमा हार
यूएईविरुद्ध ४ खेल २ जित २ हार