चितवन बन्दको कार्यक्रम फिर्ता, धार्मिक सद्भाव कायम राख्न सबैसँग आग्रह


भरतपुर।

विश्व हिन्दू महासंघ नेपाल, जिल्ला कार्यसमिति चितवनले शनिबारका लागि आह्वान गरेको चितवन बन्दको कार्यक्रम फिर्ता लिएको छ।
महासंघका जिल्ला अध्यक्ष प्रेम गैरेले जारी गर्नुभएको विज्ञप्तिमार्फत बन्दको पूर्वनिर्धारित कार्यक्रम फिर्ता लिइएको जानकारी दिइएको हो। देशका विभिन्न स्थानमा भएका घटनाप्रति असन्तुष्टि जनाउँदै महासंघले केही मागसहित चितवन बन्दको घोषणा गरेको थियो।

तर, जिल्लाका राजनीतिक दल, विभिन्न पेशागत संघ–संस्था, स्थानीयवासी तथा जिल्ला प्रशासनबाट बन्दजस्ता विरोधका कार्यक्रम नगरी धार्मिक सद्भाव, सामाजिक एकता र शान्ति कायम गर्ने वातावरण निर्माण गर्न आग्रह भएपछि महासंघले आफ्नो निर्णय पुनर्विचार गरेको जनाएको छ।

बन्दको आह्वान गरिए पनि बिहानदेखि सार्वजनिक यातायातका साधन नियमित रूपमा सञ्चालन भएका थिए। केही विद्यालय भने बन्द रहेका थिए।

महासंघले प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन तथा गृहमन्त्री र पीडित पक्षबीच भएको सहमतिले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै सरकारको पछिल्लो पहलको स्वागतस्वरूप बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ।

अध्यक्ष गैरेले विज्ञप्तिमा सबै सरोकारवाला पक्ष, नागरिक समाज तथा प्रशासनले बन्द नगर्न गरेको अनुरोधलाई सम्मान गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्तिपूर्ण वातावरणलाई प्राथमिकता दिई बन्द फिर्ता लिने निर्णय गरिएको उल्लेख गर्नुभएको छ।