अयोध्यासँग जोडिएपछि सेतीवेनीमा बढ्यो धार्मिक पर्यटन

282
Shares

स्याङ्जा । स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सङ्गमस्थलका रुपमा परिचित सेतीवेनी पछिल्लो समय धार्मिक तथा पर्यटकीय दृष्टिले थप महत्वपूर्ण गन्तव्यका रुपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी नदीबाट शालिग्राम शिला भारतको अयोध्यामा लगेर भगवान् श्रीरामको मन्दिरमा प्राणप्रतिष्ठा गरिएपछि सेतीवेनीस्थित शिलाको दर्शन गर्न आउने भक्तजन तथा पर्यटकको संख्या उल्लेख्यरुपमा वृद्धि भएको स्थानीयले बताएका छन् ।

वि.सं. २०७९ मा म्याग्दीको गलेश्वरधामस्थित कालीगण्डकी नदीबाट लगिएको शालिग्राम शिला अयोध्यामा प्राणप्रतिष्ठा गरिएसँगै नेपालका धार्मिक स्थलप्रति भारतीय श्रद्धालुको आकर्षण अझ बढेको हो । यसकै प्रभावस्वरुप सेतीवेनीमा शिलादर्शन गर्ने र त्यसपछि मुक्तिनाथ जाने तीर्थयात्रीको चहलपहल बढ्दै गएको पण्डित केशवराज न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्ला केही वर्षयता भारतका विभिन्न राज्यबाट आउने तीर्थयात्रीले मुक्तिनाथ यात्राअघि सेतीवेनीमा पुगेर शालिग्राम शिलाको दर्शन गर्ने गरेका छन् । धार्मिक विश्वासअनुसार मुक्तिनाथ जानुअघि सेतीवेनीस्थित शिलाको दर्शन गरे यात्रा सफल हुने जनआस्था रहेको उहाँको भनाइ छ । पण्डित न्यौपानेले भन्नुभयो, ‘मुक्तिनाथ दर्शनमा जाने तीर्थयात्री सेतीवेनीमा रोकिएर शिलाको दर्शन गर्छन् । मुक्तिनाथ जानुअघि त्यस शिलाको दर्शन गरे यात्रा सफल हुने धार्मिक विश्वास छ ।’

उहाँका अनुसार सेतीवेनीको शिलासँग विभिन्न धार्मिक विश्वास जोडिएका छन् । शिलाको दर्शन गरी भाकल गरेमा सन्तान प्राप्त हुने, बोल्न ढिला भएका बालबालिकाको वाक्य खुल्ने, रोगव्याधिबाट मुक्ति मिल्ने, वैदेशिक रोजगारीमा सफलता प्राप्त हुने तथा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ । यही धार्मिक आस्थाका कारण भाकल गरेका भक्तजनको मनोकामना पूरा भएपछि पुनः धन्यवाद ज्ञापन गर्न सेतीवेनी फर्किने परम्परा पनि रहेको उहाँले बताउनुभयो । पछिल्लो समय दैनिक १ सयदेखि १ सय ५० जना भारतीय पर्यटक तथा भक्तजन शिलाको दर्शन गर्न आउने गरेको तथ्यले सेतीवेनी धार्मिक पर्यटनको आकर्षक केन्द्र बन्दै गएको देखाउँछ ।

धार्मिक महत्वसँगै सडक पूर्वाधारको विस्तारले पनि पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको छ । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको पहुँच विस्तार भएपछि सेतीवेनी पुग्न सहज भएको छ । सडक सञ्जाल सुधारिएसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्या निरन्तर बढ्दै गएको स्थानीयको अनुभव छ । कालीगण्डकी नदीको बीचभागमा अवस्थित सेतीवेनी तीन जिल्ला– स्याङ्जा, पर्वत र गुल्मीलाई जोड्ने अद्वितीय स्थल हो । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्वको संगमका रुपमा रहेको यस क्षेत्रमा पुग्ने पर्यटकले शिलाको दर्शनसँगै नदीकिनारको मनोरम दृश्य, शालिग्राम संस्कृतिसँग जोडिएको इतिहास तथा स्थानीय धार्मिक परम्पराको अनुभव गर्ने अवसर पाउँछन् ।

पण्डित न्यौपानेका अनुसार सेतीवेनी केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई सांस्कृतिक सम्पदाको जीवन्त उदाहरण पनि हो । यहाँ आउने पर्यटकले पूजा–आराधनासँगै कालीगण्डकीको प्राकृतिक सौन्दर्य अवलोकन गर्ने, स्थानीय संस्कृतिसँग परिचित हुने तथा धार्मिक वातावरणको अनुभूति गर्ने अवसर प्राप्त गर्छन् । स्थानीयवासीले सेतीवेनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी प्रचारप्रसार गर्न सके यस क्षेत्र धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुका अनुसार आवश्यक पूर्वाधार निर्माण, व्यवस्थित तीर्थस्थल विकास, पर्यटकमैत्री सेवा सुविधा तथा धार्मिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिए सेतीवेनी विश्वकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुन सक्छ ।

उनीहरुको भनाइमा शालिग्राम, कालीगण्डकी सभ्यता, हिन्दू धार्मिक आस्था र प्राकृतिक सम्पदाको अध्ययनका लागि समेत सेतीवेनी अनुसन्धानको केन्द्र बन्ने सम्भावना रहेको छ । त्यसका लागि सरकार, स्थानीय तह, धार्मिक संस्था र निजी क्षेत्रबीच समन्वय आवश्यक रहेको उनीहरुको धारणा छ । पछिल्ला वर्षहरुमा सेतीवेनी पुग्ने पर्यटकका लागि कालीगण्डकी नदीमा सञ्चालन हुँदै आएको जलविहार (¥याफ्टिङ) अर्को आकर्षणका रुपमा विकास भइरहेको छ । स्याङ्जाको मिर्मीबाट शुरु हुने जलयात्राले पर्यटकलाई कालीगण्डकीको मनोरम दृश्य, नदीकिनारका बस्ती, जैविक विविधता तथा प्राकृतिक सम्पदाको अवलोकन गराउँदै बेग्लै अनुभव प्रदान गर्ने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । धार्मिक यात्रासँग साहसिक पर्यटनलाई जोड्न सफल भएको यस कार्यक्रमले सेतीवेनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप टेवा पु¥याएको छ ।

यद्यपि बढ्दो धार्मिक महत्वसँगै संरक्षणको चुनौती पनि देखिएको छ । कालीगण्डकी नदीमा बर्सेनि आउने बाढीले कटान गर्दै शिलाको आधार क्षेत्र कमजोर बनाउँदै गएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । नदी कटानका कारण भविष्यमा धार्मिक सम्पदामै जोखिम उत्पन्न हुन सक्ने उनीहरुको भनाइ छ । स्थानीयले शिलाको दीर्घकालीन संरक्षणका लागि तत्काल प्राविधिक अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सुरक्षित परिक्रमा मार्ग, व्यवस्थित अवलोकनस्थल, नदी कटान नियन्त्रणका संरक्षण संरचना तथा पर्यटकको सुरक्षालाई ध्यानमा राखेर पूर्वाधार निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।

तीनै तहका सरकारसँग सेतीवेनीलाई धार्मिक तथा पर्यटकीय सम्पदाका रुपमा संरक्षण र विकास गर्ने दीर्घकालीन योजना ल्याउन स्थानीयले आग्रह गरेका छन् । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक पर्यटनको अनुपम संयोजन रहेको सेतीवेनीलाई योजनाबद्धरुपमा विकास गर्न सके यसले स्थानीय अर्थतन्त्रलाई समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।