मानिसको दृष्टिकोण के छ भने, उसले हेर्दा केही चलायमान देख्छ र केही अस्थिर देख्छ, अनि उसलाई आपूm गतिशील छु भन्ने लाग्दैन । उसले देख्छ– अरू मानिसहरू चलायमान छन्, अन्य चीज बदलिरहेका छन् । म परिवर्तन भइरहेको छैन । उदाहरणलाई लिने हो भने– मानौँ तपाईं रेलमा झ्यालको छेउमा बस्नुभएको छ । अनि, तपाईं झ्यालबाहिरको परिवेशलाई नियालिरहनुभएको छ । जब रेल चल्न शुरु हुन्छ तब तपाईंले बाहिरका सबै वस्तुहरू पनि चलिरहेको देख्नुहुन्छ । रुख आइरहेको छ, गइरहेको छ । गाडीहरू आइरहेका छन्, गइरहेका छन् । जीवजन्तु आइरहेका अनि गइरहेका छन् ।
कतै जङ्गल छ, कतै पुल छ त कतै नदी छ । सबै आइरहेका अनि गइरहेका देखिन्छन् तर तपाईं बसिरहनुभएको छ । तब तपाईंलाई आपूm हिँडिरहेको छु भन्ने नै लाग्दैन तर सबै कुरा हिँडिरहेको भान हुन्छ । यद्यपि यथार्थमा जुन रुख आइरहेको अनि गइरहेको छ, त्यो कतै गइरहेको छैन । त्यो त जहाँको त्यहीँ नै छ । तपाईं आइरहनुभएको छ अनि गइरहनुभएको छ ।
तपाईंको दृष्टिकोणले के भन्छ भने, तपाईं परिवर्तन हुनुभएको छैन तर वास्तवमा तपाईं नै बदलिइरहनुभएको छ । तथापि, चीजबीजहरू जस्ताको त्यस्तै हुन्छन् । रुख होलान्, पहाड होला, जुन हजारौँ वर्षसम्म रहन सक्छन् । सबैथोक बदलिरहेको छ तर तपाईं नै सबैभन्दा बढी परिर्वतनशील हुनुहुन्छ ।
यो तपाईंको जीवन हो । तपाईंको परिवारसँग तपाईंको सम्बन्ध छ । कोही तपाईंको छोरा होला, कोही तपाईंको काका हुनुहोला । कोही केही होला त कोही कुनै नाताको होला । यो सम्बन्धको डोरो पनि तपाईं–हामीले नै बनाएका हौँ । हामी यिनै सम्बन्धलाई लिएर बिहानदेखि बेलुकासम्म जिइरहेका हुन्छौँ । तपाईंको चिन्ताको स्रोत के छ भने, ‘यिनीहरूले मलाई हेरेर के भन्लान्, के सोच्लान् ।’
कतिपय मानिसहरू ठूला–ठूला कुराका पछि दगुर्छन् । अघिल्लो जन्ममा के होला ! स्वर्ग कस्तो छ ! नर्क कस्तो छ तर एकदमै थोरै मात्रै मानिसहरू छन्, जसले अहिले के भइरहेको छ भन्ने कुरामा ध्यान दिन्छन् । म जीवित छु, यो कसरी सम्भव भयो ! उनीहरूको इच्छा त भोलि के हुन्छ भनेर जान्न पाइयोस् भन्ने हुन्छ । यसका लागि निकै प्रबन्ध मिलाउँछन् । ठूला–ठूला योजना तर्जुमा गर्छन् अनि योजनालाई पूरा गर्नका लागि कटिबद्ध भएर मिहिनेत पनि गर्छन् । हामी त हामीले बनाएको योजना पूरा होओस् भनेर एकदम धेरै मिहिनेत गरिरहेका हुन्छौँ । तथापि, यदि यो श्वासको आवागमन नै बन्द भइदियो भने त के कुरा बाँकी रहन्छ र ?
मानिस त आफ्ना सपना अर्थात् कल्पनामा हराइरहेको छ तर वास्तविकता के हो भन्ने कुरालाई उसले पहिचान गर्न सकिरहेको छैन । यथार्थ के हो भने, तपाईं जीवित हुनुहुन्छ । भोलि के हुनेछ भन्ने कुरा यथार्थ होइन । को तपाईंको भाइ हो, को तपाईंकी बहिनी हुन् ? यो पनि वास्तविक होइन । वास्तविकता त तपाईंभित्र श्वास आइरहेको छ अनि गइरहेको छ, त्यो कुरा हो । वास्तवमा यो के हो भनेर यसलाई चिन्नुहोस्, यसलाई बुझ्नुहोस् । किनभने, हरेक मानिसभित्र आपूmले आपूmलाई चिन्न चाहने तिर्खा छ । ऊ स्वयंलाई चिन्न चाहन्छ ।
स–साना बालबच्चाहरूले शुरुशुरुमा हिँड्न सक्दैनन् । उनीहरूले मानिसलाई पनि चिन्न सकिरहेका हुँदैनन् । बिस्तारै–बिस्तारै उनीहरूले सबैलाई चिन्न थाल्छन् । बिस्तारै उनीहरूले भोक के हो, प्यास के हो, सुत्नु भनेको के हो, उठ्नु भनेको के हो भन्ने कुरालाई महसुस गर्न थाल्छन् । बिस्तारै–बिस्तारै त्यो मानिसभित्र एउटा तिर्खा जाग्छ– ‘म आपूmले आपूmलाई चिन्न सकूँ ।’
बिस्तारै–बिस्तारै उसले ‘म को हुँ’ भनेर खोज्न थाल्छ । कुनचाहिँ गीत, कुन कथा भएको किताब, कुन रङ्ग मलाई मन पर्छ ! कुनचाहिँ खेलौना मलाई चाहिन्छ इत्यादि । बाल्यावस्थामा उसलाई यो संसार पनि छ भन्ने कुराको ज्ञान थिएन । यदि उसमा कुनै संसार थियो भने पनि त्यो आमा र उसका बीचको थियो । अनि उसका चारैतिर उसको संसार थियो । त्यसपछि मानिसले अब आफ्नो संसार निर्माण गर्न थाल्छ । त्यसका बीचमा ऊ स्वयं सामेल हुन्छ । यद्यपि, सबैभन्दा ठूलो कुरा उसले ‘म को हुँ’ भनेर जान्न चाहन्छ । वस्तुतः यो संसारमा आपूmले आपूmलाई चिन्नका लागि कुनै पनि साधन छैन ।
बाहिरको ज्ञान प्राप्त गर्नका लागि निकै स्रोत–साधन छन् । आफूले आफूलाई चिन्नका लागि भने कुनै साधन छैन । कुनै योजना नै छैन । कुनै विद्यालय छैनन् । अनि, कसरी मानिसले आफूले आफूलाई चिन्न सक्छ ? कसरी उसले यी सारा कुरालाई बुझ्न सक्छ ! सबैभन्दा पहिला उसले के बुझ्नुपर्छ भने, मभित्र एउटा तिर्खा छ । त्यो तिर्खा आफूले आफूलाई चिन्ने बारेमा हो । जुन प्यास मभित्र छ, जुन स्वर्ग मभित्र छ, त्यसलाई म जान्न चाहन्छु । मभित्र भएको नर्कबाट म बच्न चाहन्छु ।
सबैभन्दा ठूलो नर्क मानिसभित्रै छ । सबैभन्दा ठूलो स्वर्ग मानिसभित्रै छ । एउटा चीजबाट जोगिनुपर्छ भने अर्को चीजलाई स्वीकार गर्नु आवश्यक हुन्छ । यी दुईवटा चीजको अनुभव नभईकन मानिसले ‘म को हुँ’ भनेर कसरी बुझ्न सक्ला त ! उसको प्रकृति के हो ! मानिसलाई त म सधैँ जीवित रहन्छु भन्ने लाग्छ तर यो सम्भव छैन । यथार्थ त के हो भने, रेल गुडिरहेको छ । उसलाई भान हुन्छ– अन्य सबै चीज हिँडिरहेको छ, ऊ हिँडिरहेको छैन । तर, यथार्थ यस्तो हुँदैन । ऊ नै चलायमान छ, किनभने ऊ त्यसमा बसेको छ । ती सबै चीजहरू हिँडेका होइनन् । मानिसले यो दृष्टिकोणलाई बझ्नु अति आवश्यक हुन्छ ।
यो शरीर प्राप्त भएको छ । यो श्वास आउनु र जानु नै ती सृष्टिकर्ताको कृपा हो । यस कारणले मेरो अस्तित्व छ । यस कारण म आफ्नो जीवनमा शान्ति प्राप्त गर्न सक्छु । म आफ्नो जीवनमा त्यो परम आनन्दको अनुभव गर्न सक्छु ।
एकपटकको कुरा हो । एकजना किसान जङ्गलको बाटो भएर हिँड्दै गर्दा अचानक एउटा सिंहको बच्चा (डमरु) लाई भेटे । उनले यताउता हेरे तर कसैलाई पनि देखेनन् । सिंहको बच्चा अत्यन्तै भोको र तिर्खाएको भएका कारण मरणासन्न अवस्थामा थियो । त्यो सिंहको बच्चोको त्यस्तो हालत देखेर ती किसानलाई दया लाग्यो । त्यसलाई लिएर उनी आफ्नो घरतिर लागे । खुवाइ–पियाइ गराएर सिंहको बच्चाको भोक मेटिएपछि ती किसानले त्यसलाई कहाँ राख्ने भनेर सोच्न थाले । उनले धेरै भेडा पालेका थिए । उनले त्यो सिंहको बच्चालाई पनि त्यही भेडाको बगालमा सँगै राखिदिए । अर्को दिन भेडाहरू चर्नलाई बाहिर निस्कँदा त्यो सिंहको बच्चो पनि उनीहरूसँगै बाहिर निस्क्यो । यस्तै गर्दागर्दै धेरै वर्ष बित्यो । त्यो सिंहको बच्चो पनि भेडाहरूसँगै चरिरहन्थ्यो, उनीहरूसँगै निस्कन्थ्यो र उनीहरूसँगै बेलुका घर फर्कन्थ्यो ।
यसै गरी एकदिन त्यो सिंहको बच्चा भेडाहरूसँग चरिरहेको बेलामा अचानक एउटा ठूलो सिंह जङ्गलबाट आयो र भयङ्करले गर्जना ग¥यो । त्यो गर्जन सुनेर ती स–साना भेडाहरू डरले काम्न थाले र झाडीभित्र लुक्न लागे । सिंहको बच्चा पनि भेडाहरूजस्तै डराएर लुक्न लाग्यो । ठूलो सिंहले भेडासँगै त्यो सानो सिंह पनि लुक्ने कोशिश गरिरहेकोे देखेपछि सानो सिंहको नजिक गएर भन्यो, ‘तिमी के गरिरहेको छौ ?’ सानो सिंहले भन्यो, ‘म लुक्ने कोशिश गरिरहेको छु ।’ सिंहले भन्यो, ‘तिमी के सोच्छौ, म तिमीलाई खान्छु त ?’ त्यसपछि सानो सिंहले भन्यो, ‘अँ, तपाईंले मलाई खानुहुन्छ !’ ठूलो सिंहले भन्यो, ‘होइन, होइन । तिमीलाई थाहा छैन तिमी को हो ?’ सानो सिंहले भन्यो, ‘अँ, म को हुँ भनेर त मलाई थाहा छैन, तर तिमीले मलाई खान्छौ भनेरचाहिँ थाहा छ, त्यसैले म लुक्न चाहन्छु ।’ सिंहले भन्यो, ‘होइन, साँच्चै तिमीलाई तिमी को हौ भनेर थाहा छैन ? तिमीले आपूmलाई भेडा नै भनेर सोचेका छौ तर तिमी भेडा होइनौ । आऊ, मसँगै आऊ ।’
त्यसले उसलाई पोखरीको किनारमा लिएर गएपछि भन्यो, ‘हेर, आफ्नो छायालाई हेर !’ सानो सिंहले आफ्नो छायालाई हेरेर भन्यो, ‘साँच्चै म त ती भेडाहरूजस्तो रहेनछु । म त तिमीजस्तै पो छु ।’ उसले ठूलो सिंहप्रति आभार प्रकट गर्न लाग्यो । अनि सिंहले भन्यो, ‘किन ! मैले त तिमीलाई यथार्थमा तिमी को हौ भनेर देखाएको मात्र हुँ ! तिमी भेडा होइनौ । तिमी भेडाहरूसँग त अवश्य रहन्थ्यौ तर तिमी भेडा होइनौ । तिमीले उनीहरूसँग रहँदा–बस्दा तिमीले आपूmलाई पनि भेडा नै हुँ भनेर सोच्न थाल्यौ ।’
तपाईंको वास्तविक स्वरूप के हो ? तपाईं को हुनुहुन्छ ? आजसम्म त तपाईंले आफ्नो नाता सम्बन्धका बारेमा सोचिरहनुभएको थियो– ‘म कसैको छोरा हुँ, म कसैको काका हुँ ।’ यही कुराहरूलाई नै बुझ्यौँ । तर, वास्तविक नाता के हो ? त्यो कुन चीज हो, जसको उपस्थितिमा सबै थोक हुन्छ र नहुँदा केही पनि रहँदैन । हामी बाहिरतिरको चीजलाई मात्रै चिन्ने कोशिश गर्दछौँ । तर, हामीभित्र रहेको जुन चीज छ, के हामीले त्यसलाई पनि चिन्ने कोशिश ग¥यौँ– ‘मेरो वास्तविक स्वरूप के हो ?’ हामीले हाम्रो वास्तविक स्वरूप के हो भनेर थाहा पाएपछि हाम्रा धेरै भ्रमहरू हट्नेछन् ।
कृपया के नभुल्नुहोला भने, श्वास नै मानिसको जीवनको आधार हो । मानिसको वास्तविक क्षमता नै आपूmले आपैmँलाई चिन्ने, आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण तुल्याउने हो । आपूmमाथि विश्वास राखेर आफ्नै क्षमताको सहाराले अघि बढ्ने मानिसलाई अवश्य पनि सफलता प्राप्त हुन्छ ।
हामीभित्र श्वास आइरहेको कारणले नै यो सामथ्र्य पनि छ । अर्थात्, हामी जीवित छौँ । यो कुरालाई सामान्य नठान्नुहोस् । सबैभन्दा महत्वपूर्ण कुरा त के हो भने, वास्तवमा जीवित हुनाले नै मानिसमा क्षमता छ । तपाईंलाई यो वास्तविकता बोध भएपछि तपाईं कति शक्तिशाली हुनुहुन्छ र तपाईंको साँचो क्षमता के हो भन्ने कुरा थाहा हुनेछ । तपाईंलाई सृष्टिकर्ताले उपहारका रूपमा त्यो क्षमता दिएका छन् ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)











प्रतिक्रिया