काठमाडौं ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा विगत केही दिनदेखि विकसित तनावपूर्ण परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले संवेदनशील अवस्थामा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगप्रति आपत्ति जनाउँदै हिंसात्मक गतिविधि तत्काल रोक्न र संवादमार्फत समाधान खोज्न आग्रह गरेका हुन्।
ओलीले मुलुकलाई अस्थिर बनाउने तथा जनतालाई आपसमा विभाजित गरी अवाञ्छित उद्देश्य पूरा गर्ने प्रयास हुन सक्ने भन्दै सबै नागरिक, राजनीतिक दल र सरोकारवालालाई सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्।
उनले नागरिकको जीउधनको सुरक्षा गर्नु, शान्ति कायम गर्नु र संवादमार्फत समस्या समाधान गर्नु सरकारको पहिलो दायित्व भए पनि सरकारले उदासीनता, मौनता र अत्यधिक बल प्रयोगको नीति अपनाएको आरोप लगाए।
विज्ञप्तिमा ओलीले भनेका छन्, “राष्ट्रिय सुरक्षा र सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा समेत सरकारले देखाएको उदासीनता, अत्यधिक बल प्रयोग र मौनता अत्यन्त शंकास्पद एवं भर्त्सनायोग्य छ। हिंसात्मक कदम तत्काल रोकी अविलम्ब संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु।”
उनले द्वन्द्व र हिंसाले कुनै समस्याको समाधान नदिने उल्लेख गर्दै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक समुदायका अगुवालाई राष्ट्रिय हित, शान्ति र सामाजिक सद्भाव कायम राख्न एकजुट हुन पनि अपिल गरेका छन्।











प्रतिक्रिया